काठमाडौं । प्रतिनिधिसभाका नौं ओटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । आइतबार १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि उम्मेद्वारी परेको थियो । तीमध्ये नौं समितिको सभापतिमा एकल उम्मेद्वारी परेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा बाहेक अन्यमा एकल उम्मेद्वारी रहेको छ । यसमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव ।
साथै कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । समितिको सभापति चयनका लागि भोलि सोमबार निर्वाचन राखिएको छ ।