जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।
पछिल्ला पाँच वर्षमा बाँदर धेरै आउने गरेको स्थानीय चक्रबहादुर रावतले बताए । पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६/६ महिनामा फेरिन्छन् । बेरोजगार युवा धेरै भएकाले चौकीदारीमा लगाएर भए पनि रोजगारी दिने गरिएको छ । दलित समुदायका युवाहरुले चौकीदारको जिम्मेवारी लिने गरेका छन् ।
यही साउन ६ गते बसेको गाउँलेको बैठकले ३४ वर्षीय प्रेमबहादुर दमाइलाई चौकीदार नियुक्त गरेको छ । उनले महिनामा १६ हजार ५ सय रुपैयाँ तलब पाउँछन् । उनको तलबका लागि गाउँका १ सय ६५ घरधुरीले महिनामा एक–एक सय रुपैयाँ उठाउने गरेका छन् । प्रेमबहादुरअघि परिमल दमाई गाउँका चौकीदार थिए ।
काफलपाटादेखि गाडेखस्रुसम्मको जंगल क्षेत्रमा बाँदर छन् । जतिबेला पनि खेतबारीमा आउने भएकाले चौकीदारले विहानैदेखि खटिनु पर्छ । बाली पाकुन्जेलसम्म बाँदरले सताइरहन्छन् । असोज महिनमा मकै घर भित्र्याइन्छ ।
प्रेमबहादुरको १२ जनाको परिवार छ । उनले भने,‘परिवार ठूलो छ, रोजगारी मेरो मात्रै हो। चौकीदारीको पैसाले गुजारा चलाउनु छ ।’
प्रेमबहादुर स्वास्थ्यका हिसाबले ठिक, दौड्न सक्ने, बाँदर लखेट्न सक्ने ज्यान भएकाले चौकीदारमा छनोट भएको स्थानीय चक्रबहादुर रावतले बताए । ‘हट्टाकट्टा दौड्न सक्ने चौकीदारमा छानिन्छ,’ उनले भने,‘अर्को गाउँ सीमा क्षेत्र जोडिएको सबै खेतबारीको निगरानी पनि उसैले गर्छ ।’
मकै, सिमी, कोदो, फापर खेतबारीमा लगाइएको छ । गाउँले पनि प्रेमबहादुरको निकै विश्वास मान्छन् । उनी जहिल्यै पनि खेतबारीमा हातमा लठ्ठी समातेर डुलिरहेको भेटिन्छन् ।
गाउँलेहरुले लगाएको बालीनालीको सुरक्षा जिम्मेवारी पाएका उनी बाँदर धपाउने लागिपरेका छन् । बाँदर हुलमा आउँछन् । उनी लखेट्दै जंगलको सीमा कटाएर फर्कन्छन् । कहिलेकाही भालुले पनि बालीनालीमा ठूलो नोक्सान पुर्याउँछ । पशुवस्तुहरु पनि बालीनालीमा पसिरहेका हुन्छन् । उनले बाँदरका अलवा पशुवस्तु र जंगली जनावरहरुबाट समेत खेतीबाली बचाउने गर्छन् ।
प्रेमबहादुरले भने,‘कतै जानेवित्तिकै मकैबारी त बाँदरमय नै हुन्छ ।’ भौगोलिक रुपमा विकट भएकाले सबै क्षेत्रको एकैपटक निगरानी गर्न कठिन छ ।