सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार बसेको बैठकमा कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभा समक्ष टेबुल गरेका हुन् ।
शान्ति सुरक्षा कायम गर्दै अपराधको अनुसन्धान रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त हक मौलिक हक र मानव अधिकारको संरक्षण तथा संवर्द्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन सुपरिवेक्षण समन्वय व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले विधेयक ल्याइएको मन्त्री जिसीले सभालाई जानकारी गराए ।
सभामा टेबुल हुनुपूर्व सभामा पेश गर्न मन्त्री जिसीले अनुमति मागेका थिए । सभाको सर्वसहमतिले अनुमति प्रस्ताव पारित गरेको थियो ।
विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको प्रहरी सम्बन्धी ऐन बन्नेछ ।
अब प्रदेश सभा बैठक साउन ३० गते मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।