सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिकास्थित सालकोटका एकल पुरुषले सम्बन्ध विच्छेद भएकी महिलासँग विवाह गरे । ती महिलाको साथमा १३ वर्षीय बालिका पनि थिईन् ।
आमासँगै आश्रीत ती बालिका बाबुबाट यौन शोषणमा परिन् । आमा घरमा नभएको समयमा बाबुले पटक–पटक बलात्कार गरेको बयान छोरीले प्रहरीलाई दिईन् । पछिल्लो समय ती बालिका १७ वर्षको हुँदा बलात्कारमा परेकी थिईन् ।
आफन्तले देखेपछि बालिकाका तर्फबाट जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयो । छोरीलाई बलात्कार गर्ने उनका बाबुलाई कैद सजाय भएको छ ।
गत असारमा जिल्ला अदालत दैलेखले छोरीलाई बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजायको फैसला गरेको छ । ५० वर्षीय बाबुले १७ वर्षीय छोरीलाई २०७९ चैतमा बलात्कार गरेका थिए । चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरीपछि २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो । बलात्कार पुष्टि भएपछि आरोपित बाबुलाई अदालतले हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाएको छ ।
गत जेठ महिनामा सल्यानमा १४ वर्षीया बालिका सामुहिक बलात्कारमा परेको खबर बाहिरियो । उनलाई नजिकैका २१ र १७ वर्षीय किशोरले बलात्कार गरेका थिए । साथीको घरमा भएकी बालिकालाई उनको घरमै बोलाएर कोही नभएको मौका छोपी बलात्कार गरेको बयान प्रहरीलाई दिएका थिए ।
यस्तो छ प्रहरी तथ्यांक
माथी उल्लेखित घटनाहरु केही प्रतिनिधीमूलक मात्र हुन् । यी घटनाले आफ्नै समुदाय र परिवारमा महिलाहरु सुरक्षित छैनन् भन्ने दृष्टान्त प्रकट गर्दछ ।
आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशभर महिला तथा बालबालिका सम्बन्धी छ सय ३९ मुद्दा प्रहरीमा दर्ता भएका छन् । तीमध्ये दुई सय सात जवरजस्ती करणी सम्बन्धी मुद्दा रहेका छन् । जसमध्ये सुर्खेतबा सबैभन्दा बढी ८८ र सबैभन्दा कम डोल्पामा एक मुद्दा दर्ता भएको छ ।
त्यसैगरी सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७, जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जवजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको छ ।
प्रहरीका अनुसार दुई सय ३४ वटा प्रतिवादीहरूमध्ये एक सय ७९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ५५ जना अझै फरार छन् ।
प्रतिवादीहरुमध्ये छिमेकी तथा चिनजानका व्यक्तिहरु एक सय ५९ जना, चिनजान नभएको ६३ जना, नजिकका नातेदार÷हाडनाता १२ जनाबाट जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जवरजस्ति करणीको घटनाहरूबाट सबै भन्दा बढी १०–१६ उमेर समुह बालिका ९४ जना, १० भन्दा कम उमेरका चार जना, १७–२५ वर्षसम्म ७४, २६–३५ वर्षसम्म २१, ३६–४५ वर्षसम्म ९, ४६–५९ वर्षसम्म ३ र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।
के हुनसक्छ बच्ने उपाय ?
घर भित्रै र त्यो पनि घरको सबैभन्दा ठूलो मानिने व्यक्तिबाट हुने घटना बाहिर भन्नका लागि पीडित एक्लै हुन्छ । त्यसैले अहिले प्रायः सबै बालबालिका विद्यालय जाने भएकाले विद्यालयले यस्तो वातावरण बनाउनुपर्ने अधिकारकर्मी तथा अभियन्ताहरुको भनाइ छ ।
अधिवक्ता तथा अनुसन्धानकर्ता कपिल अर्याल बाबु अथवा नजिकका आफन्तबाट भएको हिंसाको घटना बाहिर ल्याउन नसक्ने भएकाले विद्यालय वा बालविकासमा जाने बेलादेखि नै उनीहरुबाट विभिन्न ढंगले बुझ्नुपर्ने बताउँछन् । अर्यालले भने, ‘विभिन्न देशहरुमा नियमित स्वास्थ्य जाँच, मनोपरामर्शका कार्यक्रमहरु स्कूल र स्कूल बाहिर पनि हुने गर्छ । यस्ता घटना भइहाले चाँडै बाहिर आउने भएकाले नेपालमा पनि त्यही खालको कार्यक्रम सरकारले शुरु गर्नुपर्छ ।’
सरकारले शुरु गर्ने भनेको एक विद्यालय एक नर्स कार्यक्रमलाई देशैभर लैजाने र त्यस्ता नर्सहरुलाई मनोपरामर्श पनि दिने गरी तालिम दिएर छात्राहरुसँग नियमित कुराकानी गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । अहिले पालिकाहरुले नै विद्यालयहरुमा मनोपरामर्शकर्ता नियुक्त गरेर यस विषयमा छात्राहरुलाई सहजीकरण गर्न सक्ने उनी बताउँछन् ।
श्रीमतीसँग आएका आश्रीत बालिका यौन शोषणमा पर्ने घटना बढेको अधिवक्ता दुर्गा सापकोटा बताउछन् । उनका अनुसार सालकोटमै त्यस्ता प्रकृतिका तीन वटा घटना भएका छन् । सामाजिक समस्या, व्यभिचार लगायतका कारणले बलात्कारजन्य घटना हुने गरेका छन् ।
२० वर्ष पूरा नगरी विवाह भई त्यस्ता घटना मुद्दा दर्ता भएमा कानूनले बलात्कारजन्य अपराधका रुपमा पनि हेर्न सक्ने अधिवक्ता सापकोटाले बताए । पछिल्लो समय त्यस्ता मुद्दाहरु पनि दर्ता हुने गरेकोले बलात्कार सम्बन्धी मुद्दाको संख्या बढेको उनको भनाई छ ।
पछिल्लो समय बलात्कार सम्बन्धी कानून अभाव भन्दापनि दुरुपयोगका कारण अपराध बढेको उनको बुझाई समेत छ । ‘कानूनी अभावको कारण अपराध बढेको देखिन्न, बरु दुरुपयोग बढेको छ ।’ उनले भने, ‘कतिपय सहमतिमा भएका सम्बन्धलाई बार्गेनिङ्ग प्वइन्ट बनाउने, सम्बन्धलाई अरु कसैले देखेका कारण र दुई व्यक्ति बीचको स्तर नमिलेका कारण पनि मुद्दा दर्ता हुने गरेका छन् ।’