काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरूद्ध प्रहरीमा उजुरी परेको छ।
पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका खड्काविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको हो।
खड्काले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर पीडित पक्षले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्राप्त निवेदनमाथि कानुन बमोजिम प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।
पत्रकार सुनिल मण्डेलले खड्काले आफूलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेको आरोप लगाएका छन्।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई सोमबार घरबाटै अपहरण गरेर होटल होली डे इनमा लगेर कुटपिट गरेको दाबी छ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले खड्कालाई कारवाहीको माग राख्दै विज्ञप्ति जारी गरेका छन्।
घटना बाहिरिएपछि रास्वपाले उनलाई मंगलबार निलम्बन गरेको हो। यसबारे पार्टीकै अनुसन्धान समितिले अनुसन्धान गरिरहेको पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताएका थिए।