सुर्खेत। सुर्खेतको पूर्वी क्षेत्रमा ईलाका प्रशासन कार्यालय सञ्चालमा आएको छ। गुर्भाकोट नगरपालिका -७ मेहेलकुनामा शनिबार औपचारिक कार्यक्रम आयोजना गरी सेवा प्रारम्भ गरिएको हो।
यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिईरहेका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकले अब मेहेलकुनाबाटै सेवा लिन पाउने छन्।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यालयको उदघाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको जानकारी दिए।
निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरु एकताबद्ध भएर जानुपर्ने बताए।
‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो। विगतका आन्दोलनमा एउटै पंक्ति बनाएर जसरी हिड्यौ। त्यसरी नै विकास निर्माणको कुरामा एकजुट हुन आवश्यक छ।’ उनले भने।
साथै, सेवा प्रारम्भ दिनको अवसरमा दुई ओटा नागरिकता समेत वितरण गरिएको छ। स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका छन्।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले स्रोतको सीमितता कारण चाहे जस्तो बजेट विनियोजन गर्न नसकिएको बताए। उनले आवश्यकता अनुसार आम नागरिकलाई समेट्ने किसिमका योजनाहरू समावेश गरिने घोषणा गरे।
रोजगारी सिर्जना गर्न कर्णाली समृद्धि अभियान अन्तर्गत १० हजारलाई रोजगारी दिई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए।
आन्तरिक मामिला मन्त्री कृष्णबहादुर जिसीले सरकारप्रति नागरिकको अपेक्षा ठूलो हुनु स्वाभाविक भएको बताउँदै आवश्यकता अनुसार सेवा पहुंच प्राप्त होस् भनी इलाका प्रशासन कार्यालयको सुरुवात भएको बताए। भाडाको घरबाट सेवा प्रारम्भ गरेको प्रशासन कार्यालयको लागि आगामी केही वर्ष भित्रै आफ्नै भवन निर्माण गरिदिने मन्त्री जिसीले प्रबद्धता जनाए।
यस्तै, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले सबै तहका सरकारको समन्वय र सहकार्यबाट जनताका आवश्यकता परिपूर्ति गर्ने बताए। उनले समय अनुकूल विकास निर्माणका चरणहरु अघि बढ्ने जानकारी दिए ।
लेकबेसी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलले लेकबेसी नगरपालिकाका जनता मेहेलकुना पुग्न सडक पहुंचका लागि स्तरीय हुन नसकेको बताउँदै सुधार गरिदिन मन्त्रीहरुलाई आग्रह गरे।
उद्घाटन भएको सो कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नागरिकता र सिफारिसका कामहरू सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए।