सुर्खेत । कर्णाली प्रदेशको गौरवका रुपमा लिइएको निर्माणाधीन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । आईतबार प्रदेश खेलकुद परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा ६० प्रतिशत भौतिक र ४६ प्रतिशत अर्थात ६५ करोड ८५ लाख रुपिँया खर्च भै वित्तीय प्रगति भएको जानकारी दिइएको हो ।
परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार दर्शक प्याराफिटमा चार हजार कुर्ची जडानको कार्य सकिएको छ । भिआईपी तर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा छ भने फिनिसिङ्ग र छाना निर्माणको काम बाँकी रहेको छ ।
‘कवर्डहलको छाना बाहेक फिनिसिङ्ग कार्य भईरहेको छ । पौडीपोखरी, व्यावसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा छ । फुटवल मैदानमा दुबो लगाई स्तर बृद्धिको कार्य भईरहेको छ एथलेटिक्स ट्र्याकको सव बेस र नाली निर्माण सम्पन्न भएको छ ।’ उनले भने, ‘रुख रोप्ने, हरियाली गर्ने कार्य भईरहेको छ । समग्रमा निर्माणाधिन रंगशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै कार्य प्रगती भएको छ ।’
परिषद्ले जिल्लाका पूर्वाधार निर्माण अन्र्तगत जुम्लाको राजासिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्य रु. ५० लाखमा निर्माण गरेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालीका अन्तगत पातिहाल्नामा क्रिकेट खेलमैदानको निर्माण कार्यको लागि ९४ लाख १७ हजार रुपिँया खर्च भएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
साथै, २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ अंकको स्वर्ण पदक सहित उत्कृष्ट खेल प्रदर्शनीको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औ बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । क श्रेणीमा एथलेटिक्स, उसु, आइटिफ, कराँते र तेक्वान्दो, ख श्रेणीमा ७ बक्सीङ, फुलकन्ट्याकट कराँते, जुडो, हक्की, रग्वी, हेन्डवल र बास्केटवल, ग श्रेणीमा १० वटा कवडी, क्रिकेट, खोखो, व्याडमिन्टन, भलिवल, भारोतलोन, फुटवल, सुटिङ, सेपाताको र पौडीखेललाई वर्गीकरण गरिएको छ ।