सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य निर्वाचित देवेन्द्रबहादुर शाहीको नेपाली कांग्रेस पार्टीले कारबाही फुकुवा गरेको छ । स्वतन्त्रबाट निर्वाचित भएका शाहीलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी शाही र उनका प्रस्तावक र समर्थक समेतको कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।
जुम्ला प्रदेश सभा (क)बाट निर्वाचित स्वतन्त्र सांसद शाहीले कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गराएका थिए ।
कांग्रेसको विधानमा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकको साधारण सदस्य नरहने उललेख छ । तर, सांसद शाही र उनका प्रस्तावक समर्थकले पुनः पार्टीमा रही हिजोका गतिविधिलाई आत्मसात गर्दै क्रियाशिल रहने प्रतिवद्धता अनुसार कारबाही फुकुवा भएको बताइएको छ ।
सदनमा कांग्रेस सांसद की स्वतन्त्र ?
कांग्रेसबाट विद्रोही उम्मेद्वार बनेर स्वतन्त्रबाट निर्वाचित भएका सांसद शाहीको पार्टीले कारबाही फुकुवा गरेपछि उनि कांग्रेस सांसद बन्न सक्छन् ।
‘स्वतन्त्रतर्फबाट निर्वाचित भएका सांसदले उक्त कार्यकालको एकपटक कुनै दल रोज्न पाउछन् । दल रोजेपछि उनी स्वतः दलीय संख्यामा गणना हुन्छन् ।’ निर्वाचन आयोगको प्रादेशिक कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने ।
सांसद शाही निर्वाचित भएदेखि अहिलेसम्म स्वतन्त्र सांसदकै भूमिकामा थिए ।
शाही पार्टीमा फर्किएपछि अब, कर्णालीमा कांग्रेस सांसदको संख्या १५ पुग्नेछ ।