सुर्खेत । महाबु अस्पताल भवन निर्माणमा त्रुटी देखिएको छ । भुई तला ढलान भैसकेपछि अहिले चुहिने भएको छ । ढलानको केही भाग लच्किएको छ ।
दैलेखको महाबु गाउँपालिका कार्यालयद्वारा बजेट कार्यान्वयन गरिएको १० शैय्याको महाबु अस्पताल निर्माण कार्यको मजदुर न्यौपाने जेभी फुकोट–६, कालीकोटले ठेक्का लिएको छ । भ्याट बाहेक पाँच करोड ५४ लाख त्रिचालिस हजारमा निर्माण सम्पन्न हुनेगरी महाबु गाउँपालिका कार्यालय र निर्माण कम्पनी बीच २०७८ मा सम्झौता भएको थियो ।
२०७८ असार २५ गते भएको सम्झौता अनुसार २०७९ पुस मसान्तमा निर्माण सकिनुपर्ने थियो । मुल्यवृद्धि, भौगोलिक विकटता, सामान ढुवानीमा कठिनाई, निर्माण व्यवासायीहरुको कन्स्ट्रक्सन होलिडे लगायतका कारण देखाई २०८० पुस मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।
हालसम्म भवनको ६० प्रतिशत भौतिक प्रगति भएको छ । त्यसवापत दुई करोड ७७ लाख तीस हजार रुपैँया कम्पनीले भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले लिएको ६५ लाख पेस्की रकममध्ये ३९ लाख फछ्र्यौट समेत भैसकेको छ ।
अनलाईन माध्यमबाट लिइएको ठेक्का प्रक्रियामा पाँच वटा कम्पनीबीच प्रतिस्पर्धा गरी उक्त ठेक्का कम्पनीले काम लिएको देखिन्छ ।
भवन निर्माणमा त्रुटी
अस्पताल भवन निर्माणमा त्रुटी देखिएको छ । भवनको ढलान निर्माण गर्दा मापदण्ड बमोजिमको काम नहुँदा त्रुटी देखिएको बुझिन्छ । ढलानका बीचमा काठका टुक्रा देखिन्छन् । बीचमा पानी जम्ने, चुहिने लगायतका कमजोरी देखिएका छन् ।
प्राविधिक स्टिमेटमै त्रुटी भएका कारण अहिले समस्या सिर्जना भएको गाउँपालिका कार्यालयको स्वीकारोक्ती छ । ‘भवनको विस्तृत परियोजना (डिपिआर) र घर नक्सा डिजाइनमा सेकेण्डरी बिम राखिएको भएपनि प्राविधिक स्टिमेटमा सेकेण्डरी बिम नराखिएको’ गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत उदयराज उपाध्यायले बताए ।
जानकारहरुका अनुसार भवन निर्माण गर्दा कम्तिमा पाँच मिटरको दुरीमा एउटा सेकेण्डरी विम राखिनुपर्दछ । उक्त भवनको एउटा कोठामा ११ मिटरको छ । तर, उक्त कोठाहरुमा सेकेण्डरी विम राखिएको छैन । त्यसअनुसार कम्तिमा एउटा कोठाभित्र २ वटा सेकेण्डरी विम राख्नुपर्ने देखिन्छ ।
परामर्शदाताहरुले निर्माण गरेको प्राविधिक स्टिमेट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निकाय नै गाउँपालिका कार्यालय भएपनि ‘स्टिमेटमा त्रु्टी’ भएको देखाएर कार्यालय पन्छिन खोजेको बुझिएको छ ।
डिपिआर र डिजाइन कसले बनायो?
१० शैय्या महाबु अस्पताल भवन निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) जेएमइसी ग्रुप्स अफ कम्पनी प्रालिले बनाएको थियो । नारायण नगरपालिका–१, दैलेख कार्यालय ठेगाना रहेको उक्त कम्पनीले भ्याट बाहेक १० लाख ५० हजार रुपैँयामा काम सम्पन्न गरेको थियो । त्यसमध्ये सात लाखमा डिपिआर र तीन लाख ५० हजार माटो परीक्षण गरी रकम भुक्तानी लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जनाए ।
उक्त कामको लागि ठेक्का लिँदा तीन वटा मात्रै कम्पनी बिच प्रतिस्पर्धा भएको थियो । गाउँपालिका कार्यालयका अनुसार मिसन ईन्जिनियर कन्सल्टेन्टद्वारा १० लाख ६० हजार, एनपी इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड डिजाइन प्रालिद्वारा १० लाख ६८ हजार र जेएमइसी ग्रुप्स अफ कम्पनी प्रालिले १० लाख ५० हजार कबोल गरेको थियो ।
विकल्प के सोचिएको छ ?
भवन निर्माणमा त्रुटी देखिएपछि त्यसको समाधानका लागि केही सोच बनाएको गाउँपालिका कार्यालयले जनाएको छ । असार ९ गते बसेको गाउँ कार्यपालिकाको बैठककको निर्णय अनुसार ‘निर्माणाधीन भवनको भासिएको, चुहिएको र विभिन्न ठाँउमा चर्किएको ढलानलाई हटाएर भवन पुनः ढलान गर्न निर्माण व्यवसायीलाई पत्र पठाइएको’ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।
साथै, ‘स्ट्रक्चरल इन्जिनियर’को समेत राय परामर्श लिने काम भईरहेको उनले बताए ।
उक्त भवनमा आईविम राखेर समाधानको उपाय निकाल्न सकिने जानकारहरुको सुझाव छ । निर्माणाधीन भवनहरुमा त्यस किसिमको त्रुटी हुँदा कमजोर देखिएको स्थानमा आईविम राखेर सुधार गर्न सकिने उनिहरुले बताए ।