सुर्खेत । कर्णाली प्रदेशको मन्त्रालयगत बजेटमाथीको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकको प्रारम्भमै उनिहरुले अवरोध गरेका हुन् । एमालेको अवरोध पछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
बजेटमा बिचौलियाको दवाव आएको कुरा स्पष्ट पार्न, सबै सांसदहरुले प्रष्ट बुझेर पढ्न मिल्ने गरी किताब प्रकाशन गर्न र वितरणमुखी योजनालाई कटौती गर्नुपर्ने एमालेको माग छ ।
‘बिचौलियाको भूमिका पर्न दिन्न भनेर प्रतिवद्धता जनाएका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले पत्रकार सम्मेलनमार्फत दवाव आएको सम्बन्धमा दिएको सार्वजनिक वक्तव्यबारे प्रष्ट पार्न माग गर्दछौं ।’ एमाले सांसद टेकराज पछाईले भने, ‘पैतृक सम्पत्ति बाँडेजस्तो बजेट आएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको जिल्ला केन्द्रित भएको छ ।’
सरकार सभासँग उत्तरदायी नहुने हो भने सिधैं पास गरे हुन्छ भन्दै बजेट सच्चिएर नआउन्जेल कुनै पनि छलफलमा भाग नलिने एमालेको भनाई छ ।
सभामुख नन्दा गुरुङ्गले आधा घण्टाका लागि स्थगित गरेको सभालाई जानकारी गराईन् ।
असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथी छलफल हुने सभाको कार्यसुची छ ।