सुर्खेत। नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरी शनिबार सुर्खेत आउँदै छन् । थारु कल्याणकारिणी परिषद् र नागरिक उन्मुक्ति पार्टीको संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न रेशमलाल आउने भएका हुन् ।
रेशमलाल जेलमुक्त भएपछि उनको अभिनन्दनका लागि सुर्खेतमा कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले बताए ।
मन्त्री चौधरीका अनुसार रेशमलाल शनिबार विहान काठमाडौंबाट सुर्खेत विमानस्थल आउने छन् । वीरेन्द्रनगरस्थित शुभहोटलमा सामान्य भेटघाट गरी दिउँसोको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
अभिनन्दन तथा समारोह कार्यक्रम वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा दिउँसो ३ बजेदेखि सुरु हुने मन्त्री चौधरीले बताए । उनका अनुसार टीकापुर घटनाका सम्बन्धलाई जनता सामू स्पष्ट पार्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल जेठ १५ गते छुटेका थिए । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि कारागारबाट रिहा भएका हुन् ।