सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सुधारका योजनाहरु समेटिएका छन् । प्रदेश प्रमुख तिलक परियारले आईतबार सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सुधारका योजना समेटिएका हुन् ।
कर्णालीबासीको आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन विशेषज्ञ स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको व्यवस्था गर्ने बताइएको छ ।
रोग लागेपछि मात्र उपचार गर्ने प्रवृत्ति अन्त्य गर्न पूर्वरोकथाम प्रक्रियालाई प्राथमिकता दिई आर्थिक वर्ष २०८०÷०८१ लाई नागरिक स्वास्थ्य परीक्षण वर्षको रुपमा लिइने घोषणा गरिएको छ ।
२५ देखि ५० शैय्यासम्मका जिल्ला अस्पतालमा डायलाइसिस, दन्त चिकित्सा, फिजियोथेरापि, प्रयोगशाला, आँखा उपचार, रक्तसञ्चार लगायतका विशेषज्ञ स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन मार्फत् सेवा प्रवाह गर्नुका साथै समय समयमा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने बताइएको छ ।
प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्यचौकीहरूमा अस्पताल व्यवस्थापन सूचना प्रणाली जडान गर्ने । प्रदेश अस्पताल सुर्खेतमा मुटु, क्यान्सर, मिर्गौला डायलाइसिस र युरोलोजी सेवा उपलब्ध गराई प्रेषण अस्पतालको रुपमा सेवा बिस्तार गर्ने योजना बनाइएको छ । साथै, उक्त अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
मृगौलाको डायलाइसिस सेवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पतालमा विस्तार गर्नुका साथै जिल्ला अस्पतालहरूमा क्रमशः विस्तार गर्दै लिने बताइएको छ ।
संक्रामक रोगको रोकथाम, निगरानी, निदान, नियन्त्रण र व्यवस्थापनका लागि प्रदेशमा सरुवा रोग अस्पतालको भौतिक पूर्वाधारको निर्माण कार्य अगाडि बढाइने भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई बि.एस.एल. द्वितीयस्तरको सेवासहितको प्रयोगशालाको रूपमा स्तरोन्नति गरी सबै सार्वजनिक अस्पतालहरूमा प्रयोगशालाको स्तरोन्नति गर्ने ।
बायोमेडिकलको डिप्लोमा कोर्स सञ्चालन गरी स्वास्थ्य उपकरणको मर्मत सम्भारको लागि आवश्यक जनशक्तिको विकास गर्नुका साथै राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी आधारभूत स्वास्थ्य उपकरण उत्पादन तथा अनुसन्धान सम्बन्धी कार्य अगाडि बढाउने योजना ल्याइएको छ ।
प्रदेशस्थित वैकल्पिक चिकित्सा अन्तर्गत सञ्चालन भएका योग, प्राकृतिक चिकित्सा, अकूपञ्चर, होमोपेथिक र आम्ची उपचारको संरक्षण र प्रवर्धन गर्ने ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई आयुर्वेद तथा प्राकृतिक चिकित्साको अनुसन्धान तथा औषधि उत्पादनको मुख्य केन्द्रको रुपमा र जिल्ला आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा (प्राकृतिक चिकित्सा, होमियोप्याथी र थेरापी) अस्पताल तथा औषधि उत्पादन केन्द्रको रुपमा विकास गर्नुका साथै स्वास्थ्यजन्य फोहोरको मापदण्ड निर्धारण गरी प्रदेशका सबै अस्पतालमा लागू गर्ने नीति कार्यक्रम रहेको छ ।
कर्णालीका औषधिजन्य खनिज, प्राणी र जडीबुटीहरूको सङ्कलन, प्रशोधन, उत्पादन र वितरणमा अध्ययन अनुसन्धान र विकास गर्न सम्बद्ध क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने । प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन हुने व्यवस्था मिलाउने घोषणा गरिएको छ ।
बर्थिङ्ग सेन्टरमा अल्ट्रासाउण्ड सेवाको पहुँच, बाल स्वास्थ्य पोषणमा सुधार, सुत्केरी पोषण उपहार, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
विपन्न नागरिकहरूका लागि अत्याधिक खर्च हुने कडा रोगहरू मुटु, क्यान्सर, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, अल्जाइमर्स, अत्याधिक जलन, पार्किन्सन, हेमोफेलिया र अटिज्मको उपचारमा राहत र सहुलियतको व्यवस्था गरिने बताइएको छ ।