सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आर्थिक संकटको बेला व्यावसायीलाई सहयोग गर्न अपील गरेको छ । बिहिबार संघले जिल्लास्थित बैंकहरुसँग सहयोग गर्न अपील गरेको हो ।
संघका अध्यक्ष लक्ष्मण कँडेलको नेतृत्वमा रहेको टिमले बैंकका शाखा प्रबन्धकसँग आवश्यक सहयोगका लागि भन्दै पत्र अनुरोध पत्र समेत बुझाएको छ ।
वाणिज्य संघले कोभीड १९ को विश्वव्यापी महामारीका कारण करिव दुई वर्षसम्म ठप्प रहेको आर्थिक गतिविधि कोभीड नियन्त्रणपछि आंशिक रुपमा चलायमान हुँदै गएको उल्लेख गरेको छ । त्यसैमा नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी निर्देशिका २०७९, बैंकहरुमा देखिएको तरलता अभावका कारण ऋण प्रवाहमा गरिएको संकुचन तथा कर्जा असुलीमा गरिएको कडाईका कारण निजी क्षेत्र पुनः अप्ठेरोमा परेको उनिहरुको बुझाई छ ।
साथै आर्थिक गतिविधि शिथिलहुँदै जाँदा फर्म पसलहरु दिनप्रतिदिन बन्द हुँदै गएपछि मुख्य बजारहरुमा सटर बन्द रहेको र आर्थिक गतिविधि नै ठप्प भएपछि व्यवसायीहरु पलायन मात्र नभइ मानसिक तनावमा पुगेको भन्दै वाणिज्य संघले बैंकहरु सँग सहयोग माग गरेको छ ।