सुर्खेत । कर्णाली प्रदेशबाट अक्सर विदेश बस्ने नागरिकको संख्या देशभरमै कम देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा वीरेन्द्रनगरमा बुधबार आयोजित राष्ट्रिय जनगणना २०७८ को कर्णाली प्रदेश स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा सार्वजनिक प्रतिवेदन अनुसार कर्णालीबाट विदेश बस्नेको जनसंख्या अन्य प्रदेशभन्दा कम देखिएको हो । प्रदेशको तुलनामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार नौं सय ६ जनाको विदेश बसोबास रहेको तथ्यांकमा देखिन्छ ।
नतिजानुसार देशका १५ लाख ५५ हजार नौं सय ६१ परिवारबाट २१ लाख ९० हजार पाँच सय ९२ जना विदेशमा अक्सर बसोबास गरेको देखिन्छ । जसमध्ये कर्णालीका ६२ हजार सात सय २८ परिवारबाट ९४ हजार तीन सय २० जना विदेशमा बसोबास गरेका छन् । कर्णालीबाट महिलाकाे तुलनामा पुरूषकाे संख्या बढी छ । पुरुषको संख्या ७७ हजार दुई सय ७८ अर्थात ८१.९ प्रतिशत र महिला १७ हजार ४२ अर्थात १८.१ प्रतिशत रहेका छन् । २०६८ को जनगणनामा ६७ हजार पाँच सय ८२ जना विदेशमा बसोबास गर्ने व्यक्तिको संख्या थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कूल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । जसमध्ये आठ लाख २३ हजार सात सय ६१ पुरुष र आठ लाख ६४ हजार छ सय ५१ महिलाको संख्या रहेको छ । यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.२७ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा लैङ्गिक अनुपात ९५.६९ थियो । यसपटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (अन्य लिङ्गी)लाई पनि समेटिएको छ । देशभरमा दुई हजार नौं सय २८ संख्या रहेकोमा कर्णालीमा २.८ प्रतिशत रहेको छ ।
कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार सात सय १५ जनामध्ये आर्थिक रुपमा सक्रिय अक्सर रोजगारको संख्या छ लाख १८ हजार चार सय ८७ रहेको छ भने ५० हजार दुई सय २८ जना बेरोजगार रहेको तथ्यांकले देखाएको छ । यीमध्ये विद्यार्थी भएकोले आर्थिक रुपमा काम नगर्नुको प्रमुख कारण देखाईएको छ । साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त विरामी, पेन्सन, सामाजिक कार्य लगायतका कारण रहेका छन् । ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्यामा ७६.१ प्रतिशत साक्षरता दर रहेको छ । त्यसध्ये सबैभन्दा बढी प्राथमिक तह (३०.९ प्रतिशत), दोस्रोमा निम्न माध्यामिक तह (२१.५ प्रतिशत), एस. एस.सी वा सो सरह (८.० प्रतिशत) र सो भन्दा माथिल्लो तह उर्तिण गर्नेहरु १५.८ प्रतिशत रहेको तथ्यांक छ ।
कर्णालीमा वार्षिक औसत जनसंख्या वृद्धिदर ०.७० रहेको छ । त्यसमध्ये सबैभन्दा बढी सुर्खेतमा १.६२ र सबैभन्दा कम दैलेखमा –०.३५ प्रतिशत रहेको छ । कर्णालीमा सबैभन्दा धेरै जनसंख्या रहेको जिल्ला सुर्खेतमा चार लाख १५ हजार एक सय २६ छ भने सबैभन्दा कम डोल्पामा ४२ हजार सात सय ७४ रहेको छ ।
कर्णालीका ६१.४ प्रतिशत परिवारहरु घरपरिसरमै र २४.१ प्रतिशत परिवारहरुले मूल धारबाट खानेपानी प्रयोग गर्ने गरेको तथ्यांक छ । ४९.६ प्रतिशत नागरिक ४९.६ प्रतिशत विद्युतको पहुँचमा छन् भने ४७.९ प्रतिशतले सौर्य ऊर्जा प्रयोग गरेका छन् ।