काठमाडौं । १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् ।
गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयका अनुसार बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएका हुन् ।
‘मेयरसाबको म्याडम गर्भवती हुनुहुन्छ, अस्पतालमै राख्न परेपछि मेयर उता ब्यस्त भएकोले कार्यक्रममा जानु नभएको होला’, सचिवालयका एक सदस्यले भने ।
महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए । ‘म वडाध्यक्ष निर्वाचित भएको ६ वर्ष भयो, अहिलेसम्म सबै पटक सहभागी भएको थाहा छ, अब यो पटक किन सहभागी भएनन् मलाई नै थाहा छैन,’ प्रवक्ता मानन्धरले भने ।
उनले अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक त्यसबारेमा जानकारी नभएको बताए ।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए ।