सुर्खेत । सुर्खेतमा ‘राजा आऊ, देश बचाऊ’ को नारा लाग्यो । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गर्ने क्रममा समर्थकहरुले नारा लगाएका हुन् । नेपालको संविधानले राजतन्त्रात्मक शासन व्यवस्थाको परिकल्पना गरेको छैन । मुलुकमा राजाको शासन पनि छैन । सरकार पनि छैन । लोकतान्त्रिक गणातन्त्रात्मक शासन व्यवस्था छ । तर, समर्थकहरुले भने ‘श्री ५ बडामहाराज धिरज सरकार’ भनिरहे । यतिमात्रै होईन कर्णाली प्रदेश सभाको बैठकमा समेत राप्रपा सांसद सन्तोषी शाहीले ‘बडामहाराज’ भनेपछि केही बेर नियमापत्ति सहित संसदको कारवाही अवरोध भएको थियो ।
अभिनन्दनका क्रममा लागेका उक्त नाराहरु वर्तमान राजनीतिक नेतृत्वका कारण जनतामा जागेको वितृष्णाको आवाज भएको राजनैतिक विश्लेषकहरुको भनाई छ ।
अभिनन्दनपछि सम्बोधन गर्दै पूर्व राजा शाहले कसैको अगाडि लम्पसार परेर बाच्नु अपमान भएको बताए । उनले आफ्नो पहिचान शान भएकोले मौलिकता र सभ्यता हाम्रो स्वाभिमान भएको बताए ।
‘हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं ।’ उनले भने, ‘राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ । नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै मिलौं । त्यसैले हामी भन्दछौं, जुटौं । हामी सबै एक भएर जुटौं । त्यसैले हामी भन्दछौं, हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं ।’
पूर्व राजा शाहले स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढ्नुपर्ने बताए ।
तस्विरः सुरेश आचार्य