काठमाडौ। विज्ञहरूले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका हुन्।
विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरू सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।
जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाई पूर्वतयारी थाल्नुपर्ने सुझाव दिए।