सुर्खेत । सत्ता (सरकार)को शक्ति केन्द्रमा कर्णाली प्रदेशका पूर्वी क्षेत्र हावी भएको छ । देशको उपप्रधानमन्त्री देखि प्रदेशका मुख्यमन्त्री हुँदै मन्त्रीसम्म सबै पूर्वी क्षेत्रको प्रतिनिधित्व बढेको छ । तर, अन्य क्षेत्रको भने सरकारमा सहभागीता न्यून छ ।
समाचारमा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई मध्यविन्दु मानिएको छ । कर्णालीको पूर्वी क्षेत्र अन्र्तगत डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत र दैलेख छन् । तीमध्ये कालीकोटको थोरै प्रतिनिधित्व छ । कर्णालीमा २४ प्रदेश सभा निर्वाचन क्षेत्र र १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये १३ जना शक्ति केन्द्रमा हावी भएका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ का सबै सांसदहरु मन्त्री बनेका छन् । प्रतिनिधि सभामा निर्वाचित पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवंम् रक्षा, कानुन मन्त्री छन् । प्रदेश सभा १ (१)बाट निर्वाचित खड्गबहादुर पोखरेल कर्णालीको सामाजिक विकास मन्त्री छन् भने प्रदेश सभा १ (२) बाट निर्वाचित कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानून मन्त्री छन् । सुर्खेतकै समानुपातिक तर्फबाट सांसद भएकी नन्दा गुरुङ प्रदेश सभामुख छन् ।
जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री छन् भने प्रदेश सभा १ (२)बाट निर्वाचित बेदराज सिंह कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
सल्यानका प्रतिनिधिसभामा निर्वाचित प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् भने प्रदेश सभा १ (१) बाट निर्वाचित भिमप्रकाश शर्मा कर्णालीको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् ।
रुकुम पश्चिम प्रदेश सभा १ (२)बाट निर्वाचित राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री छन् ।
डोल्पाबाट समानुपातिक सांसद उर्मिला विश्वकर्मा कर्णालीको ऊर्जा तथा जलस्रोत मन्त्री छन् भने कालीकाटबाट समानुपातिक सांसद भएकी यसोदा न्यौपाने कर्णालीको प्रदेश उपसभामुख छन् ।
दैलेखको प्रदेश सभा १ (२) बाट निर्वाचित कृष्णकुमार विसी कर्णालीको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् भने दैलेखकै योगेन्द्र बहादुर शाही कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष बनेका छन् ।
यसबाहेक कर्णालीको मुगु जिल्ला प्रदेश सभा १ (ख) बाट निर्वाचित मंगलबहादुर शाही कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् ।