काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले एक गैरसरकारी संस्थासँग मिलेमतो गरी अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । ट्रमा सेन्टरले स्टाफ नर्सलाई तालिम दिँदा अनियमितता गरेको भन्दै छानबिन थालेको हो ।
बागबजारस्थित इलाइट नामक संस्थाले २०७२ देखि २०७७ सम्म आईसीयू र अपरेसन थिएटरमा २ सय जनाबाट मासिक ४ हजार रुपैयाँ शुल्क लिई दैनिक ६ घण्टाका दरले ३र३ महिने तालिम सञ्चालन गरेको थियो ।
ट्रमा सेन्टरसँगको मिलेमतोमा इलाइटले नर्सिङ उत्तीर्ण गरेकालाई तालिम दिने विज्ञापन गरेर सेन्टरको आईसीयू र अपरेसन कक्ष अनधिकृत प्रयोग गरेको थियो । त्यसका लागि इलाइटले अस्पतालसँग न सम्झौता गर्यो, न त कुनै शुल्क नै बुझायो ।
आर्थिक चलखेल गरी तालिम सञ्चालन गरेको भन्दै २०७७ मै प्रधानमन्त्री कार्यालय, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान थालेका थिए ।
सतर्कता केन्द्रले तालिम सञ्चालन गैरकानुनी ठहर गर्दै गत फागुनमा कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो । तालिम सञ्चालनमा ल्याउन अस्पतालसँग अनुमति नलिएको र अस्पताललाई कुनै शुल्क नतिरेकाले संलग्न स्वास्थ्यकर्मीरकर्मचारीलाई कानुनबमोजिम कारबाही गर्न अख्तियारमा पठाउने र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने सतर्कता केन्द्रको निष्कर्ष थियो । केन्द्रका छानबिन समिति सदस्य प्रहरी नायब उपरीक्षक बुद्धि खनालले तालिम गैरकानुनी रूपमा गरिएको देखिएकाले मुद्दा दायर गर्न अख्तियारमा पठाइएको बताए ।
यो विषय गम्भीर र आपत्तिजनक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले पनि अख्तियार प्राप्त निकायले छानबिन गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेको थियो ।
२०७७ मंसिरमा ट्रमाको मेडिकल सुपरिन्टेन्डेन्टमा डा। प्रमोदकुमार यादव नियुक्त भएपछि गैरकानुनी तालिम सञ्चालन भइरहेको भन्दै बन्द गरिएको थियो ।
स्टाफ नर्सहरूलाई तालिम भने ट्रमाका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा। नवीन पोखरेल र डा। गौरव ढकालले दिएका थिए । संवेदनशील क्षेत्रमा बिनाअनुमति तालिम सञ्चालनमा ल्याउँदा बिरामीको ज्यानसमेत खतरामा हुन सक्ने अस्पतालकै चिकित्सकहरू बताउँछन् ।