सुर्खेत । सुर्खेतको पूर्वी क्षेत्रलाई आँपको हवका रुपमा लिईन्छ । यहाँ उत्पादित आँप जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । तर, यसवर्ष प्रकोप देखिएपछि आँप उत्पादनमा कमी आउने चिन्ता बढेको छ ।
यतिबेला आँपको मजुराफूलको समय हो । यो अवधिमा आँपको फूलहरु नासियो भने फल लाग्ने सम्भावना रहदैन । अहिले भेरीगंगा नगरपालिका–११ रामघाटमा रहेका आँप बगैचाका फूलहरु सुख्खा हुँदै गएका छन् । आँपमा लाग्ने फड्के किरा (म्याङ्गो होपर)को कारण त्यसो भएको कृषि अधिकृतहरुको भनाई छ । किराले फुलको रस चुसेपछि फूल सुख्खा भई झर्ने गरेको छ ।
आँप वर्ष विराएर फल्ने फल हो । त्यसअनुसार यस वर्ष रामघाटमा आँप फल्ने सिजन हो । प्रकोपका कारण वर्षेनी हुने उत्पादनभन्दा यसवर्ष कमी हुने स्थानीय मानबहादुर बुढाले चिन्ता व्यक्त गरे । किराले खाएर गुलियो लेसिलो पदार्थ आँपको फूलमा ओकलेपछि ढुसी लागेको उनले बताए । ढुसीको कारण फूल झर्ने हुन्छ । जसका कारण आँपको दाना लाग्न पाउँदैन ।
साथै, भेरीगंगाकै १३ नम्बर वडामा रहेका आँप बगैचामा पनि यस्तै प्रकोप देखिएको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थाका अध्यक्ष नवराज वलीले जानकारी दिए । यसक्षेत्रको आम्दानीसँग जोडिएको व्यवसायिक आँप खेतीमा प्रकोपका कारण उत्पादनमा कमी आउने संकेत देखिएपछि आर्थिक समस्या हुने चिन्ता बढेको उनले बताए । उनका अनुसार यी क्षेत्रमा फागुन अन्तिम सातादेखि प्रकोप देखिन थालेको हो ।
प्रकोप व्यवस्थापनका लागि विषादी प्रयोग गर्नुपर्ने कृषि विकास निर्देशनालय सुर्खेतका कृषि अधिकृत यामबहादुर रानाले बताए । फड्के किरा व्यवस्थापनका लागि ‘जि सुनामी’ नामक विषादी प्रयोग गर्न उनले सुझाव दिए । उनका अनुसार ‘जि सुनामी’ विषादीमा ‘कोलोरो पाईरीफस’ ५० प्रतिशत र ‘साईपरमेथिन’ ५ प्रतिशत मिश्रणमा पाइन्छ । प्रति लिटर पानीमा दुई एमएल विषादी प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
फड्के किरा फूल पारेको हप्तादिनमा बच्चा हुने भएकोले यसको प्रकोप व्यवस्थापनका लागि साप्ताहिक रुपमा विषादी प्रयोग गर्नुपर्ने रानाले बताए । फड्के किरा वयस्क अवस्थापछि १५ देखि १७ दिनसम्म जिवीत हुने भएकोले पनि विषादीको निरन्तर प्रयोग गर्नुपर्ने हुन्छ ।
आँप नहुँदाको सीजनमा पनि भेरीगंगा क्षेत्रमा फड्के किराका लागि उपयुक्त जंगल भएकोले सधैंका वर्ष अलि चनाखो बन्नुपर्ने उनले बताए ।
अधिकृत रानाका अनुसार यसपटक भेरीगंगा क्षेत्रमा भएको प्रकोप व्यवस्थापनका लागि निर्देशनालयले विषादी वितरण गरेको छ ।
आकस्मीक बाली संरक्षण सेवा अन्र्तगत निर्देशनालयले त्यस क्षेत्रका लागि २६ लिटर विषादी र छर्किन प्रयोग गरिने १० थान ‘स्प्रे’ कृषकहरुलाई निःशुल्क वितरण गरेको रानाले जानकारी दिए ।