सुर्खेत । कर्णाली प्रदेश सभालाई प्रदेश प्रमुख तिलक परियारले सम्बोधन गरेका छन् । नेपालको संविधानको धारा १८४ को उपधारा २ बमोजिम परियारले बैठकलाई सम्बोधन गरेका हुन् ।
प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रराम्भ भएपछि प्रदेश प्रमुखले सभाको बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । तथापी, निर्वाचनपछि दोस्रो कार्यकालको पहिलो अधिवेशनको आठौं बैठकमा परियारको सम्बोधनलाई राखिएको हो ।
सम्बोधनका क्रममा प्रदेश प्रमुख परियारले प्रदेश राजधानीको विकास, योजना छनोट र कार्यान्वयनमा गम्भिर हुनुपर्ने बताए । समृद्ध कर्णालीको सपना देखिरहेका गरिब जनताले पाएको सास्तीलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
पूर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि लगायतका क्षेत्रलाई रोजगारी र उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताए । सरकारले घोषणा गरेको वार्षिक १० हजारलाई रोजगारी दिने कार्ययोजनालाई मूर्त रुपमा दिनुपर्ने उनले बताए ।