सुर्खेत । राफ्टिङ एउटा मनोरञ्जनात्मक साहसिक खेल हो । पानीको बहावसँग बग्दै गरिने राफ्टिङबाट जलयात्रा गर्न सकिन्छ । नदीको बहावसँगै गरिने यात्रा भएकोले पनि यसलाई साहसिक भनिएको हो ।
राफ्टिङका माध्यमबाट मनोरन्जन लिन कर्णालीमा प्रशस्तै सम्भावना देखिन्छन् । कर्णाली र भेरी यहाँका मुख्य नदी हुन् । जसलाई नेपालका साहसिक राफ्टिङ गर्न सकिने नदीका रुपमा लिईन्छ । नेपालका १६ वटा नदीलाई राफ्टिङका लागि खुल्ला गरिएको छ । त्यसमध्ये कर्णाली, सुनकोसी र भोटेकोसी नदी राफ्टिङका लागि संसारकै उत्कृष्ट १० नदीमा पर्छन् । खासगरी यी तीनवटा नदीमा विदेशीहरू महङ्गो रकम तिरेर राफ्टिङको मज्जा लिन्छन् । पर्यटकीय आकर्षणका लागि भेरी र कर्णाली नदीमा राफ्टिङको सम्भावना अधिक भएपनि उपयोग भने न्युन छ ।
कर्णाली नदीमा राफ्टिङ
कर्णाली नदी नेपालको सबैभन्दा लामो र ठूलो नदीका रूपमा परिचित छ । यो नदी राफ्टिङका लागि संसारकै सबैभन्दा उत्कृष्ट नदीमध्ये एक हो । मानसरोवर मुहान भएको कर्णाली नदीमा केही अघि बेलायतका राजकुमार ह्यारीले पनि राफ्टिङ गरेका थिए ।
सुदूरपश्चिमको अपिबाट सुरु हुने सेती, धौलागिरिबाट सुरु हुने भेरी नदीसहित दुई दर्जनभन्दा बढी खोला–नालाको पानी बोकेर हिंड्ने कर्णाली नदी चिसापानीपछि सुस्त गतिमा भारततिर बग्छ ।
कर्णाली नदी अर्न्तगत अहिले दैलेखको तल्लो डुङ्गेश्वरदेखि कर्णाली चिसापानीसम्म राफ्टिङ यात्रा हुने गरेको छ । यो खण्ड राफ्टिङका लागि चर्चित पनि छ । यो खण्डको जलयात्राका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिने भएकोले पनि चर्चित भएको बताईन्छ । सुस्त गतीमा राफ्टिङ गर्दा थारु संस्कृति, चराचुरुंगी, जलचर एवं वन्यजन्तुहरू नियाल्दाको बेग्लै आनन्द लिने गरेको पाइन्छ ।
यो खण्डको जलयात्राका लागि पूरा १० दिन समय लाग्ने गरेको छ । दैनिक ५–६ घण्टाको जलयात्रा र नदी किनारको रात्रीकालीन बसाईले थप मनोरन्जन लिन पाईन्छ । वर्षाको समयमा अलि चुनौती भएपनि अरु महिनाहरुमा सहजै जलयात्रा गर्न सकिने राफ्टिङ गाईडहरु बताउछन् ।
भेरीमा राफ्टिङ
भेरी नदी पनि राफ्टिङका लागि उपयुक्त छ । सुर्खेतको मेहलकुनादेखि तरङ्गा हुँदै कर्णाली नदीसँगै चिसापानीसम्मको जलयात्रा गर्न सकिन्छ । यो नदीलाई जलयात्राको लागि तीन खण्डमा विभाजन गरिएको छ मेहेलकुना–भेरी पुल, भेरीपुल–रानीघाट र रानीघाट–तरङ्गा रहेका छन् । मेहेलकुना देखि रानीघाटसम्मको ४५ किलोमिटर खण्ड राफ्टिङका लागि उपयुक्त छ ।
यसका लागि फागुनदेखि जेठ महिनासम्मको समय सबैभन्दा उपयुक्त मानिन्छ । दैनिक ५–६ घण्टाको यात्रापछि मेहेलकुनादेखि तरङ्गासम्म तीन दिनमा जलयात्रा गर्न सकिन्छ । यहाँ भेरी–कर्णाली ¥यापिड एड्भेन्चर जलयात्रा गराउँदै आएका छन् ।
सरकारी सहयोग भएन
आर्थिक सम्मृद्धिका लागि पर्यटन व्यवसाय मुख्य आधारस्तम्भ हो । राफ्टिङ पर्यटकीय आकर्षणको केन्द्र पनि हो । कर्णालीमा पर्यटकीय सम्भावना देखिएको राफ्टिङ सञ्चालनका लागि भने सरकारी सहयोग प्राप्त नभएको व्यवसायीको गुनासो छ ।
जानकारीमा आएअनुसार कर्णालीमा व्यवसायिक रुपले कर्णाली–भेरी राफ्टिङ एडभेन्चरमात्रै सञ्चालनमा छ । विगत नौं वर्षदेखि कर्णाली र भेरी नदीमा राफ्ट्ङि मार्फत पर्यटकीय मनोरञ्जन प्रदान गरिरहेको सञ्चालक हरि विष्टले बताए । उनका अनुसार राफ्टिङ सञ्चालनका लागि करिब पचास लाख लगानी भैसकेको छ । ‘दुर्भाग्यका साथ भन्नै पर्छ यतिका वर्षसम्म लगानीको ब्याज समेत उठेको छैन । तरपनि सेवा निरन्तर दिईरहेका छौं ।’ सञ्चालक विष्टले भने ।
सरकारका तर्फबाट राफ्टिङलाई उजागर गर्नेगरी कुनैपनि क्रियाकलाप नहुँदा व्यवसाय धरासायी बनेको उनको बुझाई छ । ‘सकभर झोलामा कम्पनी बोक्नेहरुलाई सरकारी प्रोत्साहन भैरहेको छ । हामीजस्ता फिल्डमै सेवा प्रदान गर्नेलाई सरकारको अनुभूति हुन सकेको छैन ।’ सञ्चालक विष्टले भने, ‘सरकारले आर्थिक सहयोग नै गर्नपर्छ भन्ने हाम्रो अपेक्षा होईन । तर, प्रचार–प्रसारका लागि सहयोग मात्रै गरिदिए पुग्नेथियो ।’
नेपालमा धेरैजसो भारतका नयाँ दिल्ली, लखनउ, बहराईच जस्ता ठाउँबाट राफ्टिङ मनोरञ्जनका लागि पर्यटक आउने गर्दछन् । ती पर्यटकलाई कर्णाली र भेरीमा जलयात्रा गराउन पाए यहाँको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विष्टको बुझाई छ । त्यसका लागि सरकारले पनि प्रचार–प्रसारमा जोड दिओस् भन्ने उनको अपेक्षा छ । ‘भारतका पर्यटकलाई कर्णाली भित्राउन अब त्यसतर्फ प्रचार गर्ने योजना बनाएका छौं ।’ सञ्चालक विष्टले भने ।
१७ वर्षदेखि राफ्टिङ गाईडमा
धादिङका मिलन सेडाई राफ्टिङ गाईड हुन् । उनि १७ वर्षदेखि यो पेशामा लागिरहेका छन् । नेपालका सबैजसो नदीहरुमा राफ्टिङ गराईसकेको अनुभव उनिसँग छ । ‘कर्णाली, सुनकोसी, भोटेकोसी, त्रिशुली लगायतका नेपालका साहसिक नदीहरुमा राफ्टिङ गराईसकेको छु ।’ उनले भने ।
उनि अहिले कर्णालीमा सञ्चालित कर्णाली–भेरी राफ्टिङ एडभेन्चर कम्पनीका सिनियर गाईड छन् । कर्णालीमा फागुनदेखि जेठसम्म मात्रै राफ्टिङ सञ्चालन हुने भएकोले त्यस अनुसारै कर्णाली बस्ने गरेको बताए ।
‘त्रिशुलीमा राफ्टिङ गर्दा सहायक गाईड भएर काम गर्दै अहिले (ए) ग्रेडको गाईड भएको छु ।’ उनले भने, ‘अनुभवको हिसाबले पनि पाको भएँ ।’ नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा)ले राफ्टिङ गाईडहरुको वर्गीकरण गर्दै आएको छ । कर्णाली प्रदेशमा राफ्टिङका लागि मनोरञ्जनात्मक क्षेत्र भएपनि यहाँ पर्यटकको संख्यामा कमी देखिएको उनले बताए ।
राफ्टिङ जाँदा के कुरामा ध्यान दिनुपर्छ ?
राफ्टिङ जाँदा अलि धेरै संवेदनशील बन्नुपर्छ । पानीको बहावसँगको यात्रा चुनौतीपूर्ण हुने गर्दछ । राफ्टिङ यात्रामा निस्किनुपूर्व केही कुरामा ध्यान दिनुपर्ने गाईड सेडाईले बताए ।
पहिलो कुरा जलयात्रामा हिड्नुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्दछ । स्वास्थ्य ठिक अवस्थामा हुँदा यात्रामा निस्किनु राम्रो हुन्छ । ‘नदीको यात्रा हुने भएकोले स्वास्थ्यमा आएको सामान्य खराबीले समेत ठूलो दुःख पाईन्छ । उपचारका लागि स्वास्थ्य तथा स्वास्थ्य संस्था पुग्न यातायात साधनको पँहुच नहुने भएकोले पनि जटिल हुन्छ’ गाईड सेडाईले भने ।
आफुसँग भएका बहुमूल्य गहनाहरु, मोबाईल, क्यामेरा जस्ता सामानहरु सकभर नबोक्दा नै उचित हुन्छ । यदि लिनैपर्ने भएपनि वाटरप्रुफ ईलेक्ट्रीक सामानहरु लिनु उचित हुने गाईड सेडाईले बताए । साथै, गहना लगायतका बहुमुल्य सामानहरु हराउनसक्ने खतरा पनि उतिकै हुन्छ ।
जलयात्रामा हिड्दा हाफपेन्ट, टि–सर्ट, कट्टु, वेट सुज जस्ता पहिरन लगाउँदा उचित हुन्छ ।
यात्राको क्रममा खानाको लागि ड्राई फुड, फलफुल जस्ता खानेकुरा लिनुपर्छ भने जलयात्रामा मादक पदार्थ नपिउनु नै राम्रो हुने गाईड सेडाई बताउछन् । यदि पिउनुपर्ने नै भए रात्रीकालीन बसाईमा सेवन गर्न उनी सुझाव दिन्छन् ।
जलयात्रामा गाईडले दिएको निर्देशनलाई पालना गर्नुपर्छ । दिइएको लाईफ ज्याकेट, हेल्मेटहरु सही तरिकाले बाँधेर मात्रै यात्रा निस्किनुपर्ने सेडाईको सुझाव छ ।