सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मप)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । आईतबार विभिन्न संघ, संगठनहरु र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
स्ववियु निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय विभागका अनुसार अध्यक्ष पदमा नौं जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये नेविसंघबाट रोशन बस्नेत, अनेरास्ववियुबाट प्रकाश रिजाल, अखिल क्रान्तिकारीबाट ममता अधिकारी, अनेरास्ववियुबाट मिलन विसी र नेक्राविसंघबाट योगेशकुमार शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै, अध्यक्ष पदमा स्वतन्त्रतर्फबाट महेन्द्रकुमार थापा, महेश धिताल, भूपेन्द्र बम र पारस सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, सचिव पदमा पनि नौं जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेविसंघबाट भूपेन्द्र आचार्य, अनुरास्ववियुबाट उमेश तिवारी, अखिल क्रान्तिकारीबाट जगतबहादुर शाही, अनेरास्ववियुबाट भूपेन्द्र भण्डारी र अखिल (क्रान्तिकारी) विप्लवबाट चिनबहादुर सहकारीको उम्मेदवारी रहेको छ भने स्तन्त्रतर्फबाट शिशिरकुमार कार्की, प्रकाश विक, नरेश राना र दिनेश खड्काको उम्मेदवारी दर्ता छ ।
यसैगरी, कोषाध्यक्ष पदमा नेविसंघबाट तेजबहादुर बम, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल क्रान्तिकारीबाट दिपक खड्का, अनेरास्ववियुबाट जनक धमला र अखिल क्रान्तिकारी विप्लवबाट मनिसाकुमारी सहकारी र स्वतन्त्रतर्फबाट भरत गौतमको उम्मेदवारी दर्ता छ ।
साथै, सदस्य पदमा ३० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्ववियु निर्वाचन अन्तरगत २४ गते उम्मेदवारी उपर दावी विरोध, मनोनयन पत्रको जाँच र उजुरी उपर छानविन गरी निर्णय गरी दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने २५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यस्तै, चैत्र ३ गते विहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
साथै, यसपटकको निर्वाचनमा मप विश्वविद्यालय केन्द्रीय विभाग अन्तरगत चार हजार ८२९ जना विद्यार्थीले मत हाल्न पाउने समितिले जनाएको छ ।