दैलेख (महाबु) । महाबु गाउँपालिका दैलेखले स्क्रिनिङ शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको महाबु अस्पतालमा आगामी मंगलबार निःशुल्क शिविर सञ्चालन गर्ने भएको हो ।
दैलेख जिल्ला अस्पतालमा फागुन २७ देखि चैत्र १ गतेसम्म निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया शिविर आयोजना हुँदै छ । त्यसका लागि महाबुले मंगलबार स्क्रिनिङ शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा संयोजक रमेश दशौंदीले बताए ।
उनका अनुसार शिविरमा खुट्टाको पैतला फर्किएका, जन्मजात हात-खुट्टा बाङ्गिएका, हात वा खुट्टाका विकृतजन्य समस्याहरु, हात वा खुट्टा भाँचिएका वा बाँङ्गिएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हात आगोले पोलिएको, हात–खुट्टामा भएका गाँठा–गुठीहरु निकाल्ने लगायतका हाडजाेर्नी सम्बन्धी शल्यक्रियाका लागि स्क्रिनिङ शिविर सञ्चालन गरिने भएको हो ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ट हाडजोर्नी विशेषज्ञ डाक्टरहरुले दैलेख जिल्ला अस्पतामा ओयोजित शिविरमा सेवा प्रदान गर्नेछन् ।