सुर्खेत । डौल्पाको ठूलीभेरी नगरपालिका कार्यालयबाट सञ्चालित तीन वटा योजनामा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा मात्रै तीन वटा सडक निर्माणका आयोजनामा भ्रष्टाचार भएको पाइएको हो ।
अख्तियारका अनुसार जुफाल–माझफाल सडक निर्माण, तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो र घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यमा भ्रष्टाचार भएको हो ।
ती योजनामा भ्रष्टाचार गर्नेहरुमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव–इन्जिनियर विकास खत्री कसूरदार ठहरिएको अख्तियारले जनाएको छ ।
यस्तै, नगरपालिकाको योजना अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र निर्माण उपभोक्ता समितिका पदाधिकारीको संलग्नता रहेको छ ।
ती याेजनामा भ्रष्टाचाजन्य कसूर ठहर भएपछि उनिहरूविरूद्व विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेकाे छ । आइतबार बिगाे र कैद सजाय हुन माग दाबीसहित मुद्दा दायर गरिएकाे अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए ।
जुफाल–माझफाल सडक
डोल्पाको ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव–इन्जिनियर विकास खत्रीले जुफाल–माझफाल मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयारी गरी ३२ लाख २९ हजार २७२ रुपैँया भ्रष्टाचार गरेको कसुर ठहर भएको छ । उनिहरुलाई सोही बराबरको रकम बिगो दाबी गरि कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।
साथै, उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनले समेत गलत प्रतिवेदन पेश गरेको भष्टाचार गरेको कसुरमा भ्रष्टाचार ऐनको दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी गरिएको छ ।
यसैगरी सोही योजनाको उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाहीले नगरपालिकासँग भएको शर्त एवं सम्झौता विपरित फिल्डमा काम नगरी भ्रष्टाचार गरेको कसुरमा ३२ लाख २९ हजार २७२ रुपैँया मागदाबी सहित ऐनको दफा ८(४) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।
तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र सवइन्जिनियर शिवराज शाहीले तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयार गरी २० लाख ३० हजार ११९ रुपैँया भ्रष्टाचार कसूर गरेको अख्तियारले ठहर गरेको छ ।
उनिहरुबाट २० लाख ३० हजार ११९रुपैयाँ र ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ ।
उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार कसूर ठहर गर्दै उनिहरुबाट २० लाख ३० हजार ११९रुपैयाँ र ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ ।
साथै, उक्त योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाहीले नगरपालिकासँग गरेको शर्त सम्झौता विपरीत नभएको नगरी भ्रष्टाचार कसुर गरेको अख्तियारको ठहर छ । उनिहरुबाट पनि बाट २० लाख ३० हजार ११९रुपैयाँ र ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ ।
घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको झुट्टा विवरण तयारी गरी २२ लाख ८९ हजार २६५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनिहरुविरुद्व उल्लिखित रकम र कैद सजायको मागदाबी गर्दैै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको ठहर गरेको छ । उनिहरुबाट २२ लाख ८९ हजार २६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ ।
साथै, निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले नगरपालिकासँग गरेको सम्झौता विपरीत काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनिहरुबाट २२ लाख ८९ हजार २६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ ।