सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा सुर्खेतमा सञ्चालन भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारण सभा आयोजना गरिएको जनाइएको छ ।
आईतबार सुरु भएको साधारणसभालाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका छन् । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरे ।
दशौं राष्ट्रिय खेलकुुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ । यसको पूर्वतयारीका लागि आवश्यक कामकारबाही गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए । राजनीतिक नेतृत्व परिवर्तनका कारण विकासमा प्रभाव परिरहेको उहाँको जिकीर थियो । ‘शासन व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन । प्रदेश सरकार त्यसतर्फ उदृत भएर काम गरिरहेको छ ।’ उनले भने ।
उद्घाटन सत्रमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कर्णालीमा खेल क्षेत्रको पूर्वाधार विकासका लागि दवाव सिर्जना गर्न समेत सुर्खेतमा साधारणसभा राखिएको बताए । कर्णालीको सुर्खेतमा क्रिकेटको ठूलै रंगशाला नभएपनि मैदानमात्रै भएपनि निर्माण गरिदिन मुख्यमन्त्री समक्ष माग प्रस्तुत गरे । उनले आगामी प्रत्येक वर्ष कर्णालीमा क्रिकेट सम्बन्धि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता जनाए ।
क्रिकेट खेलमा कर्णाली अझैपनि पछाडी परेको महसुस गर्दै यो साधारण सभाले कर्णालीमा क्रिकेट विकासका लागि पहल गर्न ध्यानकेन्द्रीत गराएको उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए ।
कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले दशौं खेलकुद प्रतियोगिताको तयारी भैरहेको जानकारी दिए । त्यसका लागि एक अर्ब ३४ करोड रुपिँया खर्च अनुमान गरिएको बताए । प्रतियोगिताको आयोजनासँगै कर्णालीलाई पदक प्राप्त गर्नका लागि खेलाडी तयारी गर्ने कार्ययोजना रहेको जानकारी दिन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले खेलकुद क्षेत्रको विकासका लागि अभियान बनाएर जागरुक हुन आग्रह गरे । उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिन सरकारसँग माग गरे ।
साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरि करिब एक सय जना प्रतिनिधीको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।
साधारण सभाको बन्दसत्र मार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समिक्षा गरी आगामी कदमका बारेमा निर्णय लिईने अध्यक्ष चन्दले जानकारी दिए ।