सुर्खेत । वीरेन्द्रनगरको विस्तृत गुरुयोजना २०२९ सालमा बन्यो । माधवभक्त माथेमा नेतृत्वको तीन सदस्यीय टोलीले उतिबेला व्यवस्थित शहरका रुपमा निर्माण गर्न गुरुयोजना निर्माण गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र विर विक्रम शाहले गुरुयोजना निर्माणका लागि टोली खटाएका थिए ।
उतिबेला गुरुयोजना बनाउन खटिएको टोलीले वीरेन्द्रनगर स्थान पत्ता लगाउन करिब २ महिना लागेको थियो । अहिले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीका रुपमा परिचीत छ । यसलाई व्यवस्थित शहर बनाउन प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका जुटिरहेको छ ।
उतिबेला निर्माण भएको गुरुयोजना र अहिलेको वर्तमान अवस्थाका बारेमा वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवको ‘यो शहर, त्यो रहर’ सत्रमा छलफल भएको छ । छलफलका क्रममा गुरुयोजनाकार माथेमा, वीरेन्द्रनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख मोहनमाया ढकाल र सहजकर्ता गोविन्द कोइरालाले बहस गरे ।
‘मलाई वीरेन्द्रनगरको गुरुयोजना निर्माण गर्न खटाईयो । उतिबेल ममात्रै होइन धेरैलाई वीरेन्द्रनगर कहाँ पर्छ भन्ने नै थाहा थिएन । त्यही थाहा पाउन मलाई करिब २ महिना लाग्यो । धेरै मान्छेसँग सोधेँ तर, थाहा पाइएन ।’ माथेमाले भने, ‘राष्ट्रिय योजना आयोगका तत्कालीन डा. हर्क गुरुङसँग सोध्दा पश्चिमको यो ठाउँमा छ भन्नुभएको थियो ।’
युएनडिपीमा कार्यरत साथीहरुको सहकार्यले वीरेन्द्रनगर पुग्न सकिएको माथेमाले बताए । ‘हामी उतिबेलाको १५ हजार भाडामा हेलिकप्टरबाट यहाँ आएका थियौं ।’ उनले भने, ‘मसँगै कालपुर, शंकरमान प्रधान, प्रविन्द्र भट्राई थियौं ।’
अहिले वीरेन्द्रनगरमा शहरीकरणका हिसाबले विभिन्न समस्या देखिनु स्वभाविक भउको उनले बताए । परिकल्पना अनुसार धेरै काम भएको माथेमाले दावी गरे । समस्यै नभएको शहर कतै देखेको छैन । सुर्खेतको विकासमा अलिकति भिन्न तरिकाले अघि बढ्नु पर्ने उनको तर्क थियो ।
वीरेन्द्रनगरलाई त्यतिबेला सुदूरपश्चिम क्षेत्रको विकास केन्द्रका रुपमा प्रशासकीय शासन केन्द्र बनाउन खोजिएको माथेमाले जानकारी दिए । सरकारी, अर्धुसरकारी कार्यालयहरुको पूर्वाधार निर्माण । त्यसका लागि बाटो–घाटोको व्यवस्था र यी कार्यालयका सेवाग्राहीका लागि बजार व्यवस्थापनलाई ध्यान दिएर गुरुयोजना निर्माण गरिएको उनले बताए ।
‘सुर्खेत आउँदा यहाँ भोकमरी भैरहेको थियो । गरिबीपन कस्तो हुन्छ भन्ने पहिलो पटक थाहा पाएँ ।’ उनले भने, ‘ठूलो बेलायती शहरको परिकल्पना छोडेँ । वीरेन्द्रनगर जस्तो नेपालमा हजारौं शहर बन्न सक्छन् । यसको आर्थिक औचित्य के छ? भन्ने राजा वीरेन्द्रसँग प्रश्न उठाएको थिए ।’ हरेक रोपनी जग्गाले कति परिवार धान्न सक्छ । ग्रामिण क्षेत्रमा जबसम्म जनसंख्या कम गरिदैन तबसम्म विकास गर्न नसकिने उनले बताए ।
वीरेन्द्रनगरलाई मुख्यतया ईत्राम खोला पूर्वी किनार, ईत्राम खोला पश्चिम किनार र ढोडेखाली क्षेत्र गरी तीन भागमा विभाजन गरिएको थियो । राजमार्गभन्दा तल्लो भागलाई कृषि क्षेत्र भनिएको थियो । हरियाली क्षेत्र र आवास क्षेत्रमा पनि वर्गीकरण गरिएको थियो । आवास क्षेत्रको मुख्य उद्देश्य अनुसार नगरविकास बाट विस्थापित परिवारलाई घडेरी उपलब्ध गराउने व्यवस्था भएको माथेमाले जनाए ।
‘उतिबेला सुर्खेतमा बयलगाँडा समेत थिएन । तत्कालीन सरकारमा क्षेत्रीय विकास कार्यालयमा के हुनुपथ्र्यो भन्ने प्रष्टोक्ती थिएन । सबै ठाउँमा मिलाउन साध्य भएन ।’ माथेमाले भने, ‘२५ वर्षसम्म सरकारी लगानी र त्यसपछि क्रमिक रुपमा व्यक्तिगत लगानीबाट वीरेन्द्रनगरको विकास गर्ने योजना थियो ।’ उतिबेला अधिग्रहण गरिएको जग्गा विगाहको मूल्य ६ हजार थियो । ‘हामीले सरकारसँग १० हजार माग राखेर कार्यान्वयन भएको थियो । जग्गा अधिग्रहण गरेर नगरविकास हुदैन भन्ने कुरा निश्कर्ष थियो ।’
अहिले सिजन अनुसार रंगिन देखाउने वीरेन्द्रनगरका गुलमोहर लगायतका फूलका विरुवाहरु उतिबेला भारतको लखनउबाट यहाँ ल्याइएको माथेमाले बताए । ‘लखनउको नर्सरीबाट विरुवा ल्याएर आएका थियौं । उतिबेला एउटा विरुवा संरक्षणका लाग एक सय रुपैँया खर्च भएको थियो । तत्कालीन अर्थमन्त्रीबाट गाली पनि खान प¥यो । यति धेरै खर्च गरेर के गर्न खोजेको भनेर ।’
पूर्व–पश्चिम रनवे बिना ठूलो जहाज आउन सक्दैन
सुर्खेतमा विमानस्थलको पूर्व–पश्चिम धावन मार्ग नहुँदासम्म ठूला जहाज आउन नसक्ने माथेमाको पनि जिकीर छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणका क्रममा २ वटा विकल्पलाई ध्यानमा राखिएको थियो । एउटा अहिले सञ्चालनमा आइरहेको विमानस्थल र अर्को देउतीबज्यै मन्दिर क्षेत्र आसपासमा (पूर्व–पश्चिम) विकल्प कल्पना गरिएको माथेमाले बताए ।
‘देउती बज्यै मन्दिर क्षेत्र आसपासमा विमानस्थल बनाउने कुरा उतिबेला क्याविनेटमा पनि पुगेको हो । तर, जग्गा अधिग्रहण गर्दा संरक्षण गर्न गाह्रो हुने भयो । आर्थिक रुपमा पनि समस्या हुने देखियो । त्यसपछि अहिलेकै विमानस्थल भएको क्षेत्र सञ्चालनमा आयो ।’ उनले भने, ‘यहाँ पूर्व–पश्चिम रनवे नबनाउन्जेल ठूला जहाज आउनै सक्दैनन् । जग्गाको हिसाबले अर्को विकल्प पनि छैन ।’
साथै, पश्चिम क्षेत्रको लागि विमानस्थल हवका लागि नेपालगञ्जमै बनाउने भन्ने उतिबेलाको परिकल्पना भएको माथेमाले बताए ।
व्यवस्थित शहर बनाउने लागिरहेका छौं : नगरप्रमुख
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न लागिरहेको बताईन् । ‘यो शहर, त्यो रहर’ सत्रमा उठेका विषयमा छलफल गर्दै २०२९ सालमा बनेको गुरुयोजना बामोजिम नै हुनेगरी व्यवस्थित शहर निर्माणमा जुटिरहेको जिकीर गरिन् ।
उनले यहाँको ट्राफिक व्यवस्थापन, सडक स्तरोन्नती, सार्वजनिक जग्गा संरक्षण लगायतका कामहरु गर्ने योजना रहेको बताईन् ।
भाडामा लगिएका जग्गाहरु जुन प्रयोजनमा लिइएको थियो सोही अनुसार प्रयोग भए वा नभएको अनुगमन गरी सोही अनुसार प्रयोगमा ल्याउन पहल गर्ने प्रतिवद्धता जनाईन् ।
वीरेन्द्रनगरमा माथेमाको नाममा केही काम गर्ने प्रतिवद्धता जनाईन् । उनले धरातलीय स्रोत साधनलाई सदुपयोग गरेर विकास गर्नेमा कटिवद्ध रहेको बताईन् ।
‘यहाँ सरकारी जग्गा करिब २३२ विगाह छ । मुख्य बजार निर्माण को क्रममा छौं । यो सडक चिल्लो बनाईसकेपछि फुटपाथ र पार्किङ्ग व्यवस्थापन हुनेछ । कुनै संरचना सडकमा परेको अवस्थामा हटाईनेछ ।’ उनले भनिन्, ‘उपत्यका भित्र पार्कको रुपमा तोकिएका धेरै ठाउँ छन् सोही अनुसार व्यवस्थापन गर्नेछौं ।’