सुर्खेेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट अहिले बचत फिर्ता माग्नेहरुको संख्या बढेको छ । शिवशिखरको सुर्खेत शाखाका सेवाग्राहीले सहकारीप्रतिको विश्वास नभएको भन्दै आफ्नो बचत रकम फिर्ता मागेको बताउछन् ।
सहकारीमा चेक साट्दा पैसा नपाएपछि दैनिकजसो बचत फिर्ता माग्ने सेवाग्राही बढेका छन् । ‘मात्रै दुई हजार रुपिँयाको चेक साट्न माघ १८ गते आएको थिएँ । पैसा छैन २३ गते आउनु भनेर पठाए ।’ बचतकर्ता नविता शाहीले भनिन्, ‘२३ गते आउँदा भोलि आउन भने । आज (२५ गते) आएको चेक साट्ने ठाउँ बन्द छ । मुद्दा प¥यो भन्छन् ।’
यस्तै, वीरेन्द्रनगर–४ का स्थानीय सावित्री परियार पनि चेक साट्न तीन पटक धाउँदा समेत नगद रुपैँया नपाएको गुनासो गरिन् । उनका अनुसार सहकारीमा बाल बचत र मुद्दती खातामा एक लाख १२ हजार बढी रकम जम्मा छ । सो रकममध्ये बाल बचतको रुपैँया लिन खोज्दा नपाएको बताईन् । ‘छोराछोरीको नाममा बाल बचत खातामा पैसा जम्मा गरेको थिए ।’ उनले भनिन्, ‘अहिले बचत रकम फिर्ता माग्दा पाएको छैन ।’
यसैगरी, सबैले बचत फिर्ता माग्न थालेको खबर पाएपछि आफ्नो बचत रकम फिर्ता लिन आएको उदयराम विकले बताए । ‘सहकारीमा पैसा छैन भन्छन् । कारोबार यहीबाट गर्ने गरेको छु । बचतमा केही रकम बाँकी थियो ।’ उनले भने, ‘सबैले पैसा फिर्ता माग्न थालेपछि म पनि यहाँ आएको हुँ ।’
यसरी सहकारीबाट बचत फिर्ता माग्न आउनेको संख्या दैनिक दुई–तीन सय जना रहेका छन् । उक्त सहकारीका बुटवल, कोहलपुर लगायतका शाखाबाट बचतकर्ताले रुपैँया फिर्ता गर्न दवाव दिईरहेका छन् ।
किन यस्तो ?
शिवशिखर बहुउद्देश्यीय सहकारी सुर्खेत शाखामा विभिन्न सात किसिमका बचत खातामा कारोबार हुने गरेको छ । त्यसमा करिब सात हजार बचतकर्ता छन् । ‘दैनिक अनुपातमा ५० लाख देखि एक करोड सम्मकै कारोबार हुने गरेको थियो ।’ लेखा शाखाप्रमुख छवी डाँगीले भनिन् ।
उनका अनुसार सहकारीले बचत रकम विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट पसल लगायतका क्षेत्रहरुमा लगानी गर्दै आएको छ । त्यसमध्ये केही रकम बचतकर्ताहरुलाई ऋण लगानी समेत गरेको छ । ‘सुर्खेतमा मात्रै करिब ४–५ करोड रुपैँया ऋण लगानी छ ।’ डाँगीले भनिन् ।
शिवशिखरको बुटवल र कोहलपुर शाखामा बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सुर्खेतमा पनि त्यसको असर परेको उनले बताईन् । ‘बुटवल र कोहलपुर शाखाबाट बचत फिर्ता मागेको समाचार बाहिरियो । त्यसपछि सुर्खेतमा पनि हामीप्रतिको विश्वास घट्यो । दैनिक हुनुपर्ने बचत पनि स्वात्तै घट्यो । पहिला करोडमा हुने बचत विस्तारै २०–२५ हजारमा पुग्यो । अनि बचत फिर्ता माग्न आउने क्रम बढेको हो ।’ डाँगीले भनिन् ।
सबै बचतकर्ताले एकमुष्ठ रकम फिर्ता माग्न थालेपछि समस्या आएको उनको भनाई छ । ‘सहकारीले पनि कुनै ठाउँमा लगानी गर्ने हो । त्यसबाट आएको आम्दानी बचतकर्तालाई फिर्ता गर्ने हो । तर, सबैजनाले एकैपटक बचत फिर्ता लिन थालेपछि हामीलाई अप्ठेरो परेको छ ।’ उनले भनिन्, ‘सहकारीको सञ्चालक समितिको बैठक बसिरहेको छ । केही दिनमा निचोड निस्किएला ।’
अहिले सहकारीबाट चल्ती खाता, मुद्दती रकम र शेयर फिर्ता माग्न थालेका छन् । मुद्दती खातामा राखिएको पैसा निश्चित अवधिसम्मका लागि भएकोले त्यही अनुसार लगानी हुने गरेको डाँगीले बताईन् । ‘मुद्दती खाताको पैसा लगानी भएको हुन्छ । भनेको बेला सबै ठाउँबाट एकैपटक पैसा उठ्नेपनि हुँदैन ।’ उनले भनिन्, ‘सबैले एकमुष्ठ माग्न थालेपछि बचत रकमको चक्र नमिलेको हो ।’
बाहिर हल्ला भएजस्तो नभई बचतकर्ताको रकम सुरक्षित भएको डाँगीको दावी छ ।
साथै, उक्त शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुउद्देश्यीय सहकारीबीच मर्ज हुन लागेको हुँदा पनि कारोबार बन्द गरिएको जनाएको छ ।
बचत तथा ऋण सम्बन्धि सहकारी ऐनमा के छ?
सहकारी ऐन २०७४ को परिच्छेद–७ मा बचत तथा ऋण परिचालन सम्बन्धि व्यवस्था छ । ऐनको दफा ५० को उपदफा २ मा ऋणको मुख्य कारोबार गर्नेगरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउदैनन् ।
सहकारीले सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोके बमोजिम लिन मिल्छ भने बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नमिल्ने ऐनमा उल्लेख छ ।
साथै, सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजर बिल खरिद गर्न बाहेक अचल सम्पत्ति खरीद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैंकको शेयर खरीद वा अन्य कुनै प्रयोजमा उपयोग गर्न मिल्दैन । तर, शिवशिखर सहकारीले विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट पसल लगायतका क्षेत्रहरुमा लगानी गरेको जनाएको छ ।
सहकारी ऐनको आर्थिक स्रोत परिचालन सम्बन्धि व्यवस्था अनुसार कुनै सदस्यले सहकारी संस्थाको सदस्यता त्यागी रकम फिर्ता लिन चाहेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व भुक्तान गरेको मितिले तीन महिनाभित्र बाँकी रकम तोकिए बमोजिम फिर्ता गरिनुपर्दछ ।
साथै, कुनै सदस्यले बचत फिर्ता माग गरेमा निजको दायित्व भए कट्टा गरी बचत फिर्ता गरिनुपर्दछ ।