सुर्खेत। कर्णाली प्रदेशमै मृर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पताल सुर्खेतको सहकार्यमा शनिबार उहाँहरुको मृगौला प्रत्यारोपण गरिएको हो । यो पश्चिम नेपालमै पहिलो पटक गरिएको मृगौला प्रत्यारोपण हो ।
प्रदेश अस्पताल सुर्खेमा नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी ४३ वर्षिय आमाको मृगौला २२ वर्षिय छोरामा सफल प्रत्यारोपण गरिएको हो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश राष्ट्रिय प्रत्यारोपण केन्द्रले सात वटै प्रदेशमा प्रत्यारोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सुरु गरिएको हो ।
काठमाण्डौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक निःशुल्क मृगौला प्रत्यारोपण सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले सुर्खेतमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
केन्द्रका तर्फबाट डा. श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका तर्फबाट डाक्टर डम्बर खड्काले गत चैत्र १० गते प्रदेश अस्पतालबाट प्रत्यारोपण सेवा सञ्चालन गर्न सम्झौता गरेका थिए । सम्झौता भएको १० महिनाभित्रै प्रत्यारोपण सेवा सुचारु भएको छ ।
प्रत्यारोपण सेवाका लागि प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रत्यारोपण केन्द्रमा १४ दिनका लागि तालिममा पठाएको थियो ।
मानव शरीरको अङ्ग प्रत्यारोपणको अनुमति नपाएको प्रदेश अस्पतालले स्वास्थ्य सेवा विभाग, अङ्ग प्रत्यारोपण समन्वय समितिबाट गत कार्तिक २० गते अनुमति पाएको थियो । सबै कानूनी तथा व्यवस्थापकीय प्रक्रियाहरु पूरा गरिएपछि मृगौलाको सफल प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म एक हजार ११ जनाको मृगौला र नौं जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाइएको छ ।
प्रत्यारोपणमा को थिए ?
प्रत्यारोपणमा केन्द्रको सहयोग तथा निर्देशक श्रेष्ठको नेतृत्वमा शल्य चिकित्सक डा. रवि किरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट ड. सोभित थापा, डा. रमित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दिपा लामिछाने, रेडियोलोजिष्ट डा. समिर दवाडी संलग्न थिए ।
यस्तै, प्रदेश अस्पतालका निर्देशक डा. खड्काको नेतृत्वमा शल्य चिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेथेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही लगायतका चिकित्सक टोली र ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ.टी. र आई.सि.यु. मा कार्यरत नर्सिङ कर्मचारी, प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतको संलग्नता रहेको थियो ।
प्रत्यारोपण कार्यको संयोजन केन्द्रका तर्फबाट डा. गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेल गर्नुभएको थियो भने अस्पतालका तर्फबाट नर्सिङ प्रमुख सकुन्तला सापकोटा र प्रशासन प्रमुख बिनोद बस्नेतले गरेका थिए । साथै, यसलाई सघाउन केन्द्रबाट ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओ.टी. स्टाफ नर्स विनिता कुटु, सयिबा नागा, आई.सि.यु. स्टाफ नर्स सजना कासुला, देवजना श्रेष्ठ र सीतामाया अवालको भूमिका रहेको अस्पतालका निर्देशक खड्काले जानकारी दिए ।
प्रदेश अस्पतालमा अब नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गरिने निर्देशक खड्काले बताए । त्यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकको क्षमता बृद्धि गरी आत्मनिर्भर बनाउनको लागि थप तालिममा पठाउने योजना रहेको उनले बताए ।