सुर्खेत। लघुवित्तीय संस्थाहरूले चर्काे ब्याज लिने गरेकाे आराेप लागेकाे छ । कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित लघु वित्तीय संस्थाहरूले मर्कामा पारेपछि सेवाग्राहीहरू आन्दाेलित बनेका हुन् ।
‘चर्को ब्याज तिर्न नसक्दा महिला दिदीबहिनीहरुले आत्महत्यासम्म गर्नुपरेको छ’ पिडीतले भने, ‘नेपालमै लघुवित्तीय संस्था खारेज गरिनुपर्छ । त्यसका लागि हामी केही माग सहित महिलाहरू आन्दोलित भएका हाैं ।’
गाउँ गाउँमा सोझा र निरक्षर गरिब तथा विपन्न महिलालाई भेला गराइ बनाइएको समुहमा विभिन्न नियम कानुन बनाएर चरम लुट गरेको आरोप पीडितहरूकाे आराेप छ ।
लघुवित्तीय संस्थाहरूले उत्पादनहीन र गैर मुनाफा हुने क्षेत्रमा चर्को ब्याजको आसमा ऋण लगानी गर्ने र ब्याज र किस्ता तिर्न नसक्दा समेत गाउँबाटै उठिबास हुनुपर्ने अवस्था रहेको छ।
राष्ट्र बैङ्कको निर्देशिका विपरीत लघुवित्तीय कर्मचारीले ऋणीहरूलाई बारम्बार मानसिक यातना दिएर आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै आफूहरूले आन्दोलन गर्नुपरेको लघुवित्तीय संस्था विरुद्धको संर्घष समिति नेपालका संयोजक मनिराम ज्ञवालीले बताए। ‘संस्थाले सोझा दिदीबहिनीहरूमाथि आर्थिक, सामाजिक र मानसिक रुपमा लुट धन्दा चलाएको छ। संयोजक ज्ञवालीले भने, वित्तीय संस्थाहरूले आर्थिक सङ्कट भएको बेला चर्को ब्याज लिएर महिलाहरूलाई विभिन्न समूह बनाएर आर्थिक शोषण गरेको छ।’
देशभर १ वर्षदेखि आन्दोलनरत संर्घष समितिले विभिन्न प्रदेश स्तरीय विरोध कार्यक्रम गर्दै आएको छ। विरोध कार्यक्रममा ८ हजार बढी पीडित महिनाहरू सहभागी छन्।
३० वर्ष देखी सञ्चालित लघुवित्तीय संस्थाहरूले नेपालको कम्पनी ऐन २०४८ मा दर्ता भएर नेपाल राष्ट्र बैङ्कको (घ) वर्गका रुपमा स्थापित गराएर निर्देशिका मार्फत परिचालित भएका लघुवित्तीय संस्थाहरूले गरिबी र विपन्न वर्गको नाममा चक्रवर्ती ब्याजमा नेपालका दुर्गम गाउँका महिला सदस्यहरू आर्थिक र सामाजिक शोषण गरेको भन्दै नेपालभर विरोध हुन थालेको छ।
संर्घष समितिले मुख्यतः पाँच वटा मागहरू राखेको छ। नवसामन्ती रुपमा खुलेका लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुद्धारा लगाइएको सामूहिक ऋण खारेज गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने मागहरू राखेर लघुवित्तीय संस्थाबाट पीडित महिलाहरू आन्दोलित भएका हुन्।
पास बुक लुकाएर पढ्न नजान्ने महिलाहरूलाई झुक्काएर संस्थाहरूले पैसा असुली गरिरहेको पीडित खगिसरा विकले आरोप लगाइन्।