सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन् । शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका हुन् ।
विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शर्माले बताए । ‘शुक्रबार बस्ने प्रदेश सभा बैठकबाटै विश्वासको मत लिने बारे सचिवालयलाई जानकारी गराएको छु । त्यही अनुसार हुन्छ होला ।’ मुख्यमन्त्री शर्माले भने ।
संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्छ । गत पुस २७ गते प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा शर्मालाई नियुक्त गरेका थिए । मुख्यमन्त्रीले आफु नियुक्त भएको १० औं दिनमा विश्वास मत लिदैछन् ।
प्रदेशसभा नियमावलीको नियम १५० बमोजिम मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने सूचना दुई दिन अगावै सचिवलाई दिईनुपर्छ । सोही बमोजिम मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा मंगलबार अपरान्ह ५ बजे विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने सूचना दिएका थिए ।
‘विश्वास मत लिने प्रस्ताव पेश गरेको ४८ घण्टापछि सर्वदलीय बैठक बसेर कहिलेको बैठकमा पेश गर्ने भन्नेबारे छलफल हुन्छ’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘सूचना दिईसकेपछि बिहिबार अपरान्ह ५ः१५ बजे ४८ घण्टा पुग्छ । शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । बैठकबाट हुने निर्णय बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि सभाको बैठक आव्हान हुन्छ ।’
सभामुख नन्दा गुरुङले शुक्रबार बस्ने बैठकमा मुख्यमन्त्री शर्मामाथी विश्वास छ वा छैन भन्ने प्रश्नमा निर्णयार्थ प्रस्तुत गर्नेछिन् । सो प्रस्तावमाथी सभाको निर्णय मत विभाजनद्वारा हुनेछ । र, तत्काल संसदमा कायम संख्याको बहुमत सदस्यबाट मुख्यमन्त्रीलाई विश्वास छ भनी मत लिनुपर्नेछ ।
पुग्ला विश्वासको मत ?
माओवादी केन्द्रका राजकुमार शर्मा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भए । १३ सिट संख्यामा रहेकाे माओवादी केन्द्र संसदको दोस्रो ठूलो दल हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा शर्मा मुख्यमन्त्री बनेका हुन् । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादी पार्टीका २५ सांसदको समर्थन थियो । संसदमा एमालेका १०, राप्रपा १ र एकीकृत समाजवादीको १ सिट छ ।
४० सदस्यीय प्रदेश सभामा बहुमत प्राप्त गर्न कम्तिमा २१ सांसद चाहिन्छ । तीमध्ये सभामुख र उपसभामुख चयन पछि अब मतदानमा सहभागी संख्या ३९ रहने छ । उपसभामुखलाई मतदान गर्ने अधिकार भएपनि सभामुखलाई भने जुनसुकै बेला मत दिनपाउने अधिकार हुँदैन ।
‘मतदानका क्रममा मत बराबर भएको अवस्थामा निर्णायक मत दिन बाहेक अन्य अवस्थामा सभामुखको मताधिकार हुँदैन ।’ प्रदेशसभा सचिव बुढाथोकीले भने ।
अब गठबन्धन दलहरुकै बहुमत पुग्ने हुँदा मुख्यमन्त्री शर्मालाई विश्वासको मत पाउन कठिन छैन । बैठकमा सांसदको पूर्ण सहभागीता रहेको अवस्थामा शर्मालाई विश्वास छ भन्ने प्रस्तावको पक्षमा २४ मत रहनेछ ।
गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै विश्वासको मत दिने कुरामा तलमाथी नहुने राप्रपा सांसद सन्तोषी शाहीले बताईन् ।
यस्तै, मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेजस्तै विश्वासको मत पनि दिईने एकीकृत समाजवादी सांसद कल्याणी खड्काले बताईन् । ‘निर्वाचनताका भएको गठबन्धनको मर्मअनुसार हाम्रो पार्टीको मत दिने सल्लाह छ ।’ सांसद खड्काले भनिन्, ‘सोही अनुसार सभामुख पदमा कांग्रेस उम्मेदवार भएकोले उतिबेला कांग्रेसको पक्षमा उभिएँ अब मुख्यमन्त्री माओवादी केन्द्रको भएको हुँदा उहाँलाई नै विश्वासको मत दिन्छु ।’
कांग्रेसले दिन्छ विश्वासको मत?
कांग्रेस-गठबन्धन दलहरुको हलचल पछि एमाले-गठबन्धनसँग जोडिएर पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री नियुक्त भए । विश्वासको मत लिने क्रममा दाहाललाई प्रचण्ड मत प्राप्त भयो ।
प्रतिपक्षी दलमा देखिने कांग्रेसले पनि उनलाई मत दिएको थियो । संसदमा उपस्थित २ जना बाहेक अरु सबै सांसदको दाहाललाई विश्वास छ भन्ने पक्षमा मत प्राप्त भएको थियो ।
संघमा भएजस्तै प्रदेश सरकारमा पनि यो अभ्यास हुनसक्ने कयौंको अनुमान छ । तर, यस्तो नहुने कांग्रेस सांसदहरु बताउछन् । ‘संघमा भएजस्तो अभ्यास यहाँ हुँदैन । हामी प्रष्ट छौं ।’ कांग्रेस सांसद घनश्याम भण्डारीले भने, ‘प्रदेश सभामा कांग्रेस बलियो प्रतिपक्षको भूमिकामा रहन्छ । सोही अनुसार हामीले मुख्यमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्छौैं ।’