सुर्खेत । कर्णाली प्रदेशको सभामुख निर्वाचनका लागि मिति र समय तोकि सकिएको छ । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले माघ १ गते दिउँस १ बजे निर्वाचन समय तोकेका हुन् ।
निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरिसकेको छ ।
नर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव उपर दावी विरोध कार्यक्रम तय गरिएको छ ।
यस्तै, माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको वैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम तालिका रहेको छ ।
के छ दलहरुको तयारी?
सभामुखका लागि दलका तर्फबाट उम्मेदवारी दिन तयारी थालेका छन् । पात्र छनोटका विषयमा टुंगो नलागेपनि उम्मेदवार दिने तयारी भैरहेको जनाइएको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवारी दिने जनाएको छ । ‘हाम्रो दलका तर्फबाट उम्मेदवारी दिन्छौं । को हुने भन्ने कुरा अहिले नै सार्वजनिक हुँदैन ।’ प्रदेश सांसद घनश्याम भण्डारीले भने । कांग्रेसका १४ सांसद रहेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र समाजवादीका तर्फबाट एकल उम्मेदवारी पर्ने संकेत देखिएको छ । सत्तासञ्चालनका लागि यी दलहरुले गठबन्धन गरेका छन् । जसअनुसार संसदका चार वटै दलहरुको समर्थनमा माओजादीका राजकुमार शर्मा मुख्यमन्त्री चयन भएका छन् ।
कर्णालीको सभामुख सत्तागठबन्धनको केन्द्रीय सहमति अनुसार नेकपा एमालेको भागमा परेको छ । सोही सहमति अनुसार गठबन्धन दलहरुको एकल उम्मेदवारी रहने माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । उनले सभामुख कसलाई बनाउने भन्नेबारे दलहरुबीच छलफल चलिरहेको बताए । संसदमा माओवादीका १३, एमालेका १०, राप्रपा १ र समाजवादीका १ सांसद छन् ।
सभामुखका लागि एमालेबाट सुर्खेतकी नन्दा गुरुङ्ग र मुगुका जितबहादुर मल्लको नाम चर्चामा छ ।
निर्वाचन प्रक्रिया
कर्णालीको सभामुखको निर्वाचन प्रयोजनका लागि उम्मेदवारको प्रस्ताव दर्ता पुस ३० गते ११ देखि ५ बजेसम्म समय तोकिएको छ । यो समयमा, प्रदेश सभाको कुनै सदस्यले अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एकजना सदस्यको समर्थन सहित ‘निर्वाचित भएमा सभामुखको कार्य गर्न राजी छु’ भन्ने उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्दछ ।
दर्ता भएका उम्मेदवारहरुको नामावली निर्वाचन मण्डलले प्रकाशन गर्नेछ । त्यसका लागि पुस ३० गते अपरान्ह ५ बजेट १५ मिनेट समय निर्धारण भएको छ । यस्तै, सोही दिन अपरान्ह ५ः१५ देखि ५ः३० बजे समयमा उम्मेदवारको प्रस्ताव उपर दावी विरोधको समय तोकिएको छ ।
माघ १ गते विहान १० देखि साढे १० बजेभित्र प्रस्ताव फिर्ता लिने समय छ । यस समयमा प्रस्तावित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउछन् । त्यसपछि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ११ बजेबाट सभाको बैठक प्रारम्भ भै मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
मत विभाजन गर्नुपूर्व प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गर्छनु र समर्थक सदस्य समर्थन जनाउछन् । समर्थक सदस्यले बोलिसकेपछि प्रस्तावित सदस्यका लागि मत विभाजन गर्न समय दिन्छन् ।
सभामुखको निर्वाचन सम्बन्धि व्यवस्था
संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धि व्यवस्था छ ।
सोही धाराको परिधीभित्र रही कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ७ मा सभामुखको निर्वाचन सम्बन्धि व्यवस्था छ ।
संविधान अनुसार, प्रदेश सभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । कर्णालीको पहिलो बैठक पुस १८ गते बसेको थियो । पहिलो बैठक बसेको १३ औं दिन अर्थात माघ १ गतेका लागि सभामुखको निर्वाचत मिति तोकिएको छ ।
सभामुख वा उपसभामुख मध्ये एक जना महिला र फरक–फरक दलको प्रतिनिधि हुनुपर्दछ ।
सभामुख र उपसभामुख बन्ने योग्यता के हो?
प्रदेशको सभामुख र उपसभामुख बन्नका लागि आवश्यक योग्यताबारे स्पष्ट लेखिएको छैन । तथापी, प्रदेश सभाको सदस्य भने अनिवार्य हुनुपर्दछ । प्रदेश सभाका सदस्यहरुमध्येबाट सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ ।
नेपाली नागरिक, सम्बन्धित प्रदेशको मतदाता रहेको, २५ वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नगरेको व्यक्ति प्रदेश सभा सदस्य हुन योग्य ठहरिन्छ ।
सभामुख र उपसभामुख निर्वाचित हुन कति मत चाहिन्छ?
सभामुख र उपसभामुख निर्वाचनका लागि प्रदेशसभामा तत्काल कायम रहेको कूल सदस्य संख्याको बहुमत प्राप्त गर्नुपर्दछ ।
कर्णालीमा कुल ४० प्रदेश सभा सदस्य रहेका छन् । यहाँ बहुमत प्राप्त गर्न कम्तिमा २१ मत चाहिन्छ । तर, सभामुख र उपसभामुखको निर्वाचनको समयमा बैठकमा उपस्थित संख्याको आधारमा बहुमत संख्या निर्धारण हुन्छ ।
कस्तो अवस्थामा पद रिक्त हुनसक्छ?
सभामुख र उपसभामुख प्रदेश सभाको सदस्य नरहेमा, निजले लिखित राजीनामा दिएमा वा निजले अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रदेश सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सभामुख र उपसभामुखको पद रिक्त हुन्छ ।