सुर्खेत। घण्टाघर सुर्खेतको पर्यटकीय मनोरन्जनस्थल हो । समयको जनाउ दिने घण्टाघर विरामी परेको १२ वर्ष भयो । १२ वर्षपछि घण्टाघरका घडी समय चक्रसँगै सुचारु भयो । तर, पार्क भने लथालिङ्ग अवस्थामा छ ।
घण्टाघरको घडी करिब १२ वर्षपछि नयाँ घडि जडान गरि सुचारु गरिएको हो । वीरेन्द्रनगर नगरपालिका कार्यालयले उक्त घडीहरु सञ्चालन गरेको हो ।
अब, घडीले ठिक समयको जानकारी दिनेछ भने, प्रत्येक घण्टामा वीरेन्द्रनगर बजारक्षेत्रमा घण्टाघरको आवाज गुन्जिने छ ।
घडी चलेपनि घण्टाघर पार्क भित्र भएका संरचना जीर्ण भएका छन् । जसले गर्दा पार्ककको सौन्दर्यता नै कुरुप बनेको छ ।
पार्क वीरेन्द्रनगर नगरपालिका मातहतमा रहेको छ । घण्टाघर सञ्चालन र त्यसको आयस्रोत नगरपालिकाको आन्तरिक आम्दानीको हिस्सेदार समेत हो । मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक आम्दानीको स्रोत जुटाउन सकिरहेको छैन ।
घण्टाघर पार्क सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकाले सहारा निर्माण सेवालाई ठेक्का दिएको छ । ठेक्का कम्पनी र नगरपालिकाबीच २०७८ फागुन मसान्तमा सम्झौता भएको छ ।
कम्पनीले घण्टाघर सञ्चालन गरेवापत वार्षिक २७ लाख ९१ हजार एक सय रुपैँया नगरपालिकालाई राजश्व बुझाउनु पर्नेछ । जसअनुसार दुई लाख ३२ हजार बढी रकम मासिक राजश्व पर्न जान्छ । सम्झौता मितिदेखि फागुन यता नगरपालिकाले १० महिनाको राजश्व रकम गुमाईसकेको छ । अर्थात २३ लाख २५ हजार बढी रकम गुमाएको छ ।
घण्टाघर पार्क सञ्चालनका लागि नगरपालिकाले समयमा ठेक्का कम्पनीलाई कार्यादेश नदिँदा सम्झौता कार्यान्वयन हुन नसकेको ठेकेदार कम्पनीको भनाई छ ।
मासिक बुझाउनुपर्ने भाडा वापतको रकम एक महिना भुक्तान भएको मितिले १५ दिनभित्र बुझाईसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सो अवधिमा रकम भुक्तान नगरे निर्धारित भाडा रकमको १ प्रतिशत र एक महिना काटेपछि २ प्रतिशत र २ महिना काटेपछि ३ प्रतिशतका दरले जरिवाला स्वरुप रकम बुझाउनुपर्ने शर्त राखिएको छ ।
सञ्चालनमा ढिलाई किन?
घण्टाघर पार्क सञ्चालनको जिम्मा आफुले लिएपनि अहिलेसम्म सञ्चालनमा नआउनुको मुख्य कारक वीरेन्द्रनगर नगरपालिका रहेको कम्पनीका प्रतिनिधि बखत शाही बताउछन् ।
‘सम्झौता पत्रमा हस्ताक्षर भैसकेपछि नगरपालिकाले पार्क सञ्चालनको कार्यादेश दिनुपर्ने हो । आजका मितिसम्म दिएको छैन ।’ प्रतिनिधि शाही भन्छन्, ‘शर्तनामा अनुसार नगरपालिकाले साईड क्लियरेन्स गरिदिएको छैन । हामीले कसरी काम गर्नु ?’
पार्क सञ्चालनका लागि नगरपालिकाको माग बमोजिम ठेकेदार कम्पनीले ८ लाख रुपैयाँ बैंक जमानत राखेको छ । ‘समयमा काम गर्ने वातावरण बनेको छैन । नगरपालिका ठेक्का तोड्ने प्रक्रियामा पनि नजाँदा बैंक ग्यारेण्टी समेत फजुल बनेको छ । हामीले पनि घाटा व्यहोर्नुपरेको अवस्था छ ।’ शाहीले भने ।
घण्टाघर पार्कका लागि फुल विरुवा खरिद गर्न कम्पनीका तर्फबाट सात लाख रुपैँया लगानी गरिसकिएको उनको भनाई छ ।
यता, नगरपालिकाले भने ठेक्का सम्झौता सम्बन्धि अदालतमा उजुरी परेपछि पार्क संचालन प्रक्रियामा ढिलाई भएको जनाएको छ । ‘अदालतमा रिट निवेदन परेको थियो । निवेदनको अन्तिम टुंगो लाग्न समय लाग्यो । त्यसैले ढिलाई भएको हो’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी भन्छन्, ‘अदालतको अन्तिम आदेश आईसकेको छ । अब पार्क सञ्चालनमा आउने तयारी गर्नेछौं ।’
अदालतमा उजुरी किन?
घण्टाघर पार्क सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिका र चिन्तामणी शर्माबीच २०६८ साउन २५ गते सम्झौता भएको थियो । सम्झौता अनुसार ठेक्का अवधि १० वर्ष रहेको थियो । ठेक्का अवधि सकिएपनि नगरपालिका र शर्माबीच भएको सहमति कार्यान्वयन नभई ठेक्का रद्दगरी अर्को ठेक्का खुलाएपछि शर्माले अदालतमा रिट दायर गरेका हुन् ।
रिट निवेदन उपर उच्च अदालत सुर्खेतले माग भएबमोजिमको दावी नपुग्ने भन्दै निवेदन खारेज गरिदिएको छ । अदालतले , ‘नगरपालिकासँग भएको सम्झौताको समयावधि समाप्त भए पश्चात शर्माले सञ्चालन गर्दै आएको पार्कको सञ्चालनको लागि टेन्डर आह्वान गरी ठेक्का सम्झौता भएको तर निवेदक शर्माले टेन्डर पक्रियामै भाग नलिएको, सम्झौता अवधिभर नगरपालिकाबाट इजाजत लिदा कुनै स्थायी संरचना निर्माण गरेको र सो वापत निजले भुक्तानी पाउन बाँकी रहेको स्थितीमा कानुन बमोजिम मागदावी पेश गर्न पाइने ।’ तर, फैसलामा शर्माको दावी नपुगेकाले रिट खारेज भएको अदालतले जारी गरेको पूर्णपाठमा भनिएको छ ।
‘पार्कभित्र मैले नीजि लगानीमा स्वीमिङ् पुल लगायतका केही भौतिक संरचना बनाएको थिए । नीजि लगानीमा संरचना बनेको हुदाँ मसँग भएको ठेक्का अवधि थप गर्ने सहमति भएको थियो ।’ शर्माले दावी गर्दै भने, ‘तर, पूर्वनिर्धारित समय अवधि सकिएपछि ठेक्का तोडियो । मेरो लगानी अनुसार क्षतीपुर्ती दिइएन । अवधि पनि थप भएन । यसकारण मलाई अन्याय परेको हो ।’
उतिबेला भौतिक संरचना निर्माणमा करिब ६५ लाख बढि रकम खर्च भएको शर्माको दावी छ । उनका अनुसार त्यसबखत नगरपालिका आफैले उक्त कामको प्राविधिक मूल्यांकन समेत गरेको थियो ।
यता, वीरेन्द्रनगर नगरपालिका भने, शर्मासँग त्यस्तो किसिमको सम्झौता कागज प्रमाण नभएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीको दावी छ । ‘उतिबेला तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालसँग गरिएको सहमति कागज सहितको प्रमाण पेश गर्नेछु’ शर्मा भन्छन् ।
शर्मा अब पुनः अदालत जाने तयारीमा छन् । आफुलाई अन्यायीपूर्ण तरिकाले नगरपालिकाले व्यवहार गरेको भन्दै अदालत जाने उनले बताए ।
घण्टाघरमा जे देखियाे (तस्विरहरू)