सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा समापन भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको साधारणसभा शनिबार (आज) समापन भएको हो । साधारणसभाले १५ बुँदे ‘सुर्खेत घोषणा–२०७९’ जारी समेत गरेको छ ।
साधाराणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोसन पुरीले जानकारी दिए ।
साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएकोभन्दै यसलाई कार्यान्वयनमा ल्याउन भनिएको हो ।
आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्नुका साथै सो माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामाथि कानूनी कारबाहीका लागि समेत घोषणा मार्फत जोडदार गरिएको छ ।
यो केन्द्रीय साधारणसभा संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानूनहरूमा सुधार ल्याउन सम्बद्ध पक्षसँग जोडदार माग गरिएको छ ।
श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्वद्ध पक्षसँग माग गर्दै महासंघलाई ट्रेड यूनियन संस्थाका रुपमा सामूहिक सौदावाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गरिएको छ ।
साधारणसभाको घोषणामार्फत नै साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दीगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरिएको छ । साथै, छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गरिएको छ ।
श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि यो साधारणसभा सरकारसँग जोडदार माग गरिएको छ ।
नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन अद्यावधिक गर्न निर्देश गरिएको छ । मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आह्वान गरिएको छ ।
छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएको अवसरलाई आत्मसात गर्ने गरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई अभियानकै रुपमा अघि बढाउन निर्देशन दिएको छ ।
प्रेस पासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्वद्ध सबै निकायलाई अपिल गरिएको छ ।
महासंघका विधानअनुरुप हरेक संरचनालाई स्वायत्त, क्रियाशील एवं सवल बनाउन प्रण गर्दै सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ ।
यसैगरि, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै सांस्कृतिक र पर्यटकीय रुपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै यस प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सम्वद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि सबै तहका सरकारलाई यो केन्द्रीय साधारणसभा आह्वान गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारसम्वद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका केन्द्रीय परिषद् सदस्यलाई साधारणसभामार्फत धन्यवाद ज्ञापन गरिएको छ ।
साथै, आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, संयोजनका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका साथै सहयोगका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुलाई धन्यवाद ज्ञापन गरिएको महासचिव पुरीले जानकारी दिए ।