सुर्खेत। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षे नं. २ (क) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रुपमा विकास गरिने प्रतिवद्धता जनाएका छन् ।
कँडेलले सुर्खेत विमानस्थलको स्तरोन्नति गरी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरुमा उडानको आवश्यक व्यवस्था गर्न पहल गर्ने, वीरेन्द्रनगरको चक्रपथ निर्माणलाई पूर्णता दिने, प्रदेश स्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छन् ।
यसैगरी, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्नका लागि मेडिकल कलेजको पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरमा साइन्स पार्क निर्माण, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या सामाधानका लागि पूर्जा वितरणका लागि पहल गर्ने, उपत्यकाको ढल निकासका लागि गुरूयोजना बनाई कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर नगरका विभिन्न क्षेत्रमा हाटबजार सञ्चालन गर्न पहल गर्ने, हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रको रूपमा विकास गर्ने जस्ता योजनाहरू समेटेका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कँडेलले आफुले यसअघिल्ला निर्वाचनमा गरेका प्रतिवद्धताहरु समेतलाई पूर्णता दिने बताए । आफु निर्वाचित भएमा सार्वजनिक प्रतिबद्धता कार्यान्वयन गर्ने उनको भनाइ छ ।