सुर्खेत। प्रहरी निरीक्षक कनकबहादुर शाही सर्वोत्कृष्ट अनुसन्धान अधिकृत छनोट भएका छन्। अपराध अनुसन्धानका क्षेत्रमा कर्णाली प्रदेशमै सर्वोत्कृष्ट कार्य गरेको भन्दै ६७ औं प्रहरी दिवसको अवसरमा शाहीलाई पुरस्कार प्रदान गरिएको हो। प्रहरी निरीक्षक शाही ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत छन्।
शाहीलाई कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका हुन्।
२८ वर्षीया प्रहरी निरीक्षक शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए। पश्चिम दैलेखको दुर्गम ठाटीकाँधमा जन्मिएका शाहीले १ वर्ष सुर्खेतमा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शाहीले गत साउन २१ गते दुई जना भारतीय नागरिकले सुन तौल र मूल्यमा कैफियत गरी ठगी गरेको मुद्दामा २ जना प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्न सफल भएका थिए। साउन ३० मा सल्यानको दार्मा गाउँपालिका–३ मा ३ जना व्यक्तिहरुलाई तेजाव एसिड प्रहार गरेर फरार भएका अभियुक्तलाई शाहीकै कमाण्डमा पक्राउ गरिएको थियो।
यस्तै गत साउन ८ मा सल्यानको बागचौर –२ मा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरुलाई पक्राउ गरी जुवा नियन्त्रण मुद्दामा कारबाही गर्न सफल शाहीको छवि विवादरहित छ।