सुर्खेत। सल्यानको कपुरकोटमा जिप दुर्घटनामा हुँदा आठ जनाकाे मृत्यु भएकाे छ। रा १ ज ५६३ नम्बरको जिप आज विहान भएकाे प्रहरीले जनाएकाे छ।
बाँकेको ढकेरीबाट छुटेको जिप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानीनजिक दुर्घटना भएकाे थियाे।
दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिपमा नौ जना सवार थिए। सवार ९ जनामध्ये एक जना घाइते भएका छन्।
सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका-६ का रहेका छन्। जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय बसन्त ओली छन्।
यस्तै, कपुरकोट गाउँपालिका-६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली, र कपुरकोट गाउँपालिका-५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
यस्तै, दुर्घटनामा घाइते कपुरकोट-६ का ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।