काठमाडौँ । हिमाली जिल्लाहरूसहित देशभरका ७६ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म मुस्ताङबाहेक देशका ७६ जिल्लामा डेंगी फैलिएको हो । मनाङ, डोल्पा हुम्ला, सोलुखुम्बुलगायतका हिमाली जिल्लामा समेत डेंगी फैलिएको छ ।
डेंगी नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।
नेपालमा २-३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९ सय ८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिनसम्म सबैभन्दा बढी केस ललितपुरमा देखिएको थियो तर त्यो स्थान काठमाडौँले लिइसकेको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् ।राजधानी काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन् ।
तथ्यांकअनुसार १० जिल्लामा मात्र १९ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ वटा केस देखिएका छन्। त्यसैगरी मृत्युको संख्या पनि बढ्दै गएको देखिन्छ।हालसम्म यसबाट २९जनाको मृत्यु भइसकेको छ ।
ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको छ