सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिका–३ का वडाअध्यक्षकाे राजीनामा माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार स्थानीयले वडाध्यक्ष लोकबहादुर शाहीको राजीनामा माग गरेका हुन्।
वडाध्यक्षले समाजमा गलत हर्कत गरेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयले माग छ।
वडाध्यक्ष शाहीले आफ्नो नाता पर्ने एक जना महिलासँग असभ्य तरिकाले कुरा गरेको अडिओ केही दिनअघि बाहिरिएको थियो। त्यसअघि पनि उनले गाउँमै वादी समुदायकी युवतीमाथि हातपात गरेको आरोप लागेको छ।
‘उहाँले वादी समुदायमा गएर पनि महिलामाथि हातपात गर्नुभएको कुरा आएको छ, त्यसपछि आफ्नै नाता पर्ने महिलालाई असभ्य तरिकाले श्रीमतीसँग जस्तै कुरा गर्नुभएको अडिओ बाहिर आयो,’ स्थानीय गौतम सिंहले भने, ‘जनप्रतिनिधि भएर पनि यस्तो हर्कत गर्ने मान्छेले राजीनामा नदिएसम्म ताला नखोल्नेगरी वडा कार्यालयमा लगाएका हौं।’
उनका अनुसार अध्यक्ष र उनले अडिओमा कुरा गरेकी महिलाबीच जेठाजु र बुहारी नाता पर्छ।
उनले वडाध्यक्ष शाहीले राजीनामा नदिए सामूहिक रूपमा मुद्दा प्रक्रियामा जाने बताए।
स्थानीयले विज्ञप्ति निकालेर अध्यक्षले राजीनामा दिनुपर्ने र प्रशासनले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।