काठमाण्डौ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ। गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आइतबारको बैठकमा पनि सहमति हुन सकेन।
कार्यदलका एक सदस्यका अनुसार अब सोमबार र मंगलबार कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफल गर्नेछ। साथै बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्ने भएको छ।
उक्त बैठकमा कार्यदलले आफ्नो निष्कर्ष सुनाउने बताइएको छ। आगामी मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयमा पटकपटक बैठक बसे पनि सहमति हुन सकेको छैन।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रै शेखर कोइरला लगायतका नेताहरूले कांग्रेसका लागि १ सय सिटभन्दा कम स्वीकार्य नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्।