सुर्खेत। प्रदेश लोकसेवा आयोग सुर्खेतले २१ जना परीक्षार्थीलाई कारबाही गरेकाे छ। गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परीक्षार्थी आयाेगकाे कारवाहीमा परेका हुन्।
प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ६४ को १ (ख) बमोजिम उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो।
आयोगले विज्ञापन नम्वर ५०३९५०६-०७८/७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकिकृत उपसमूह सहायकस्तर पाँचौं तह र सव-इन्जिनियर पदको लागि २०७९ जेठ २१ गते परीक्षा लिइएकाे थियो।
उक्त परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका १ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन्, भने अन्य २० जनाले भित्रि पृष्टमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ।
आयोगका अनुसार शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरेको छ, भने अन्य २० जनालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउँने गरी निलम्वन गरिएको छ।