दैलेख (महाबु)। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मनाइने लाखे जात्रा यस वर्षदेखि महाबु गाउँपालिकामा पनि सुरु गरिएको छ। महाबुको केन्द्र गैडाबाज बजारमा लाखे जात्रा सुरु गरिएको हो।
भगवान कृष्णको जन्म अष्टमीका दिन लाखे जात्रा प्रदर्शन गर्ने गरिन्छ। कर्णालीका विभिन्न जिल्लाका साथै दैलेखको दैलेख बजार, दुल्लू, चुप्रा, डुंगेश्वर, बेस्तडा, नौमूले लगायतका क्षेत्रमा लाखे जात्रा सञ्चालन हुने गरेकोमा यसवर्षदेखि महाबु गाउँपालिकामा पनि सञ्चालन गरिएको हो।
महाबुको गैडाबाजमा सञ्चालन हुने लाखे जात्राको व्यवस्थापन गैडाबाज बजार व्यवस्थापन समितिले गरेको छ। बजार व्यवस्थापन समितिका अध्यक्ष हिक्मतप्रसाद पाण्डेका अनुसार गैडाबाजस्थित शिवमन्दिरमा कृष्ण जन्माउने तयारी भैरहेको छ।
शनिबार दिउँसो तामझामका साथ लाखे जात्रा मनाउने तयारी भैरहेको छ। आज राती जन्म लिएका कृष्णबाट भोली लाखे मारेर जात्रा विर्सजन हुने छ।