महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रका रुपमा परिचित बनेको छ। उच्च लेकाली क्षेत्रमा पर्ने महावु क्षेत्र धार्मिक मात्र नभएर प्राकृतिक सौन्दर्यको हिसावले समेत महत्वपूर्ण छ। महावुधाम दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ।
प्रत्येक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा पछिल्लो समय हजारौं दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । हिन्दुहरुको आराध्यदेव देवादीदेव महादेवको शिवलिंग स्वरुपको दर्शनार्थीहरु महावुु पुग्ने गरेका छन्। कठिन भिरको बाटोमा ज्यानै हत्केलामा राखेर चढ्न मात्रै पनि मोक्ष प्राप्त हुने विश्वासमा मानिसहरु तिर्थाटन गर्न पुग्ने गरेका छन्।
गाथको मेलामा दैलेख, कालिकोट, जुम्ला, बझाङ, अच्छाम, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया र भारतका सिमावर्ती जिल्लाहरुबाट समेत गाथको मेला भर्न आउने गरेका छन्।
महावुधामको उत्पत्ति
दैलेख भूर्तिका ब्राम्हणका छोरा चलु आचार्य आवाज विहिन थिए। महावुधाममा ढुंगाबाट उत्पन्न शिवलिङ्ग सबैभन्दा पहिले आवाजविहीन आचार्यले भेटाएको किंबदन्ती छ। उनले धेरै गाइ पालेका थिए। उनको एउटा गाईले दूध दिन छाडेपछि दूध किन दिएन भनेर चियो गर्दा अहिले शिवलिङ्ग रहेको स्थानमा गाइले सधैं दूध चढाउने गरेको देखे। यो देखेर उनले त्यो ठाउँमा के रहेछ भनि हँसियाको टुप्पोले कोट्याएर हेर्दा शिवलिङ्ग देखे।
त्यसपछि महादेव प्रकट भएर उनलाई भने, ‘तिमीले मलाई सधैं दुध चढाउने गर्नु र यहाँ शिवलिङ्ग देखेको कसैलाई पनि नभन्नु, यसो गरे तिमी बोल्न सक्ने हुनेछौं।’ त्यसपछि महादेव अन्तध्र्यान भएको किंवदन्ती छ। महादेवले भने अनुसार गरेकाले उनी बोल्न र वेद सररर पढेर पूजा गर्नसक्ने भएका थिए।
पूजा आराधना
महावुगाथमा पूजा गर्दा अभिलेख सहितका चाँदीका तीनवटा आशागुर्जा, काठका प्रतिकात्मक मूर्ति गरुढसहितको चाँदीको पंचबाला तथा अन्य बहुमुल्य बस्तुहरू विशेष पूजाका बेलामा मात्र निकालिने गरिन्छ। पूजापाठका लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको परिक्रमा गर्दा बुकी झार सहित मुखमा घाँस मुखमा च्याप्ने चलन अहिलेपनि कायमै छ। शिवलिङ्ग भएको स्थानलाई सबै तिर्थयात्रीहरूले सातपटक सम्म परिक्रमा गर्ने गर्दछन्।
दैलेख भूर्ति र खुर्सानी बारीका गर्गगोत्रीय आचार्य ब्राम्हणले भैंसीको काँचो दुध चढाएपछि मात्र कालिकोट र दैलेखका अन्य ब्राम्हणद्वारा पूजापाठ सुरु गर्छन्। वर्षभर अन्न अभाव हटाउन, गाईवस्तु र अकालमा मृत्यु हुनबाट बचाउन अहिले पनि शिवलिङ्ग पुज्ने चलन छ। महाबुमा पुगेर मागेको बरदान पूरा हुने किंबदन्ती रहेको छ। विवाह गरेको धेरै वर्षसम्म सन्तान नभएकाले वर मागे पूरा हुने धार्मिक विश्वास कायमै छ।
महावु कसरी पुग्ने
कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि दैलेख बजार ६५ किलोमिटरको दुरीमा छ। पक्की सडक भएकाले ३ घण्टामा सहजै दैलेख बजार आउन सकिन्छ। दैलेख बजारबाट ४२ किलोमिटर यात्रा गरेपछि महावु पाटन क्षेत्रमा पुग्न सकिन्छ।
वर्षात नभएको बेलामा करिव ४ घण्टामा पुग्न सकिन्छ भने बर्षातका कारणले हिलाम्य बनेको खण्डमा केहि समय बढि लाग्न सक्छ। भिरको बाटो भएपनि यात्राले हरेक पटक प्रत्येक घुम्तीमा अलौकिक यात्राको अनुभव गराउने छ।
दैलेख बजारबाट करिव डेढ घण्टाको यात्रामा दशरथे बजार पुग्न सकिन्छ । स्थानिय बजार भएकाले चिया सम्म खान सकिन्छ। दोस्रो गन्तव्यमा थप एक घण्टाको यात्रामा ओखरबास भन्ने स्थानमा पुग्न सकिन्छ।
केहि पसलहरु भएकाले खाना र सामान्य बासको व्यवस्था हुन्छ। यद्यपी त्यहाबाट ३० मिनेटमा बावरसैनी भन्ने स्थानमा पुग्न सकिन्छ । केहि पसल, होटल भएकाले आवश्यक परे बास पनि बस्न सकिन्छ।
आसपास ग्रामिण बस्ती छैन। महाबु यात्राको पहिलो उकाले पार गरेपछ नाउली भन्ने ठाँउ आउछ। केहि घर केहि, गोठ भएकाले सामान्य चिया नास्ता सम्म पाउन सकिन्छ। त्यो नै दैलेखबाट महावु पुग्ने बेलाको अन्तिम बस्ती हो।
नाउलीबाट लिस्नेको घुम्ती पार गरेपछि पाटन पुग्न सकिन्छ। पैदल हिड्नेहरु भिरको बाटोबाट आधि घण्टामा पाटन पुग्न सक्छन्। सडकबाट हिड्नेहरु करिव २ घण्टाको यात्रापछि पाटन पुग्दछन्। पाटनबाट करिव एक घण्टाको उकालो पछि शिवलिंग भएको स्थानमा पुग्न सकिन्छ। धार्मीक पर्यटन विकासको लागि महावु क्षेत्र महत्वपूर्ण गन्तव्य बन्न सक्छ।
(तस्विरः याेगेन्द्र रावल)