सुर्खेत। कर्णाली प्रदेशका युवाहरुले संघीय र प्रदेश व्यवस्थापिकामा २५ बर्षमुनिका युवाको पनि प्रतिनिधित्व गराउन माग गरेका छन्। सोमबार राष्ट्रिय युवा परिषदले सुर्खेतमा आयोजना गरेको ‘कर्णाली युवा संवाद’ कार्यक्रममा सहभागी युवाहरुले क्षमता भएका युवालाई प्रदेश वा संघमा उमेरले बाधा पार्न नहुने तर्क गरेका छन्।
पालिका बाहेकका माथिल्ला जिम्मेवार पदमा जानका लागि क्षमतावान युवाहरुलाई उमेर बाधक बनेको उनीहरुको गुनासो छ।
संघ, प्रदेश र स्थानीय तहमा युवाहरुको प्रतिनिधित्व सुनश्चित नहुँदा क्षमता भएका युवाहरु अवसरबाट बञ्चित हुनुपरेको संवादमा सहभागी गणेश शाहीले बताए। ‘माथिका महत्वपूर्ण निकायमा लैङ्गिक रुपमा मात्र प्रतिनिधित्व सुनिश्चित गरिएको छ, अब म त्यो ठाउँमा बसेर काम गर्न सक्छु भन्ने वा २१ बर्ष माथीको युवालाई लिनुपर्छ,’ उनले भने, ‘यो व्यवस्था कहिलेसम्म हुन्छ?’
अर्का युवा राजेन्द्र अधिकारीले भने, ‘२५ देखि ३५ बर्ष उमेर समूहकालाई मात्र प्रदेश र त्यसभन्दा माथिल्ला सदनहरुमा सहभागी गराउने व्यवस्था गरिएको छ। प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न सक्ने युवालाई २५ बर्षभन्दा एक दिन पनि कम भयो भने अवसरबाट बञ्चित हुनुपर्ने व्यवस्था राम्रो भएन।’
नेपालको संविधानमा प्रदेश तथा संघीय व्यवस्थापिका गठनको व्यवस्था उल्लेख गरेको छ। संघीय व्यवस्थापिकाभित्रका राष्ट्रिय सभाको सदस्य हुनका लागि उमेर समूह ३५ बर्ष तोकिएको छ भने प्रतिनिधि सभा सदस्य हुनका लागि २५ बर्ष उमेर तोकिएको छ। यस्तै प्रदेश सभाको सदस्य हुनका लागि पनि संविधानले २५ बर्ष उमेर तोकेको छ।
अब २१ बर्षदेखि माथी उमेर समूहका युवाहरुले राज्यका व्यवस्थापिका र दलका केन्द्रीय कमिटीहरुमा जान मिल्ने वातावरण बनाउनुपर्ने, समयमै प्रदेश र स्थानीय तहमा पनि गुरुयोजनासहितको युवा परिषद गठन गर्नुपर्ने, प्रदेश स्तरमा युवा सीप विकास केन्द्र स्थापना गर्नुपर्ने माग संवादमा सहभागी युवाहरुले राखेका छन्।
युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न महिला र पुरुषलाई मात्र वर्गीकरण गरी सञ्चालन गरिएकोमा पनि युवाहरुले आपत्ति जनाएका छन्। उनीहरुले यसमा अपाङ्गता भएका लगायतका पछाडि परेका वर्गका युवाहरुलाई पनि लक्षित गर्नुपर्नेमा जोड् दिएका छन्।
कार्यक्रममा वक्ताको रुपमा सहभागी कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले प्रदेश युवा परिषद गठन गर्न सरकारलाई बेलाबेला निर्देशन दिईएको बताईन्। उनले अहिलेको सन्दर्भमा सांसद बन्न तोकिएको उमेरले अन्याय नपार्ने बताईन्।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्रले उनले सातवटै प्रदेशमा युवा सीप विकास केन्द्र तथा परिषद बनाउने बाउने योजना विविध कारणले पूरा नभएको बताए। यसका लागि पहल भईरहेको र सबै तहबाट सहयोग आवश्यक परेको उपाध्यक्ष बस्नेतले बताए।