सुर्खेत। संघीय सरकारले कर्णाली प्रदेशमा जोडिने विभिन्न राजमार्गका लागि बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गको स्तरोन्नती गर्न आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन गरेको हो।
मन्त्रालयले प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रम अर्न्तगत संघीय सरकारले दुई वटामात्रै योजना छनोट गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्ग र रत्न राजमार्गका लागि बजेट विनियोजन गरेको हो।
मन्त्रालयले रत्न राजर्माग कोहलपुर–सुर्खेत स्तरोन्नतीका लागि ६१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ। रत्नराजमार्गका लागि अख्तियारी सुर्खेत जिल्लालाई दिइएको छ। रत्नराजमार्गले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश जोड्ने प्रमुख मार्ग हो।
यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा स्तरान्नतीका लागि ६१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ।
नेपालगंज, सुर्खेत, दैलेख बजार, महाबु लेक, गाल्जे भात्तडी, रतडा, नाग्म, गमगढी हुँदै नाक्चेलाग्ना सडकका लागि ६० करोड बजेट विनियोजन गरिएको छ।
भेरी करिडोरका लागि ७० करोड ९२ लाख, शहिद मार्ग (घोराही–नुवागाउँ–तिला–घर्तिगाउँ–थवाङ–मुसुकोट हुँदै मैकोट) का लागि ५१ करोड ३० लाख, पुष्पालाल राजमार्गका लागि ९ अर्ब ३३ करोड १६ लाख र मनाङ, मुस्ताङ, डोल्पा जुम्ला सडकका लागि ४० करोड, राप्ती लोकमार्गका लागि ७० करोड बजेट विनियोजन गरेको छ।
संघीय सरकारले यसवर्ष कर्णाली राजमार्गका लागि भने प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छैन। सडक दुर्घटनाको उच्च जोखिममा रहेको कर्णाली राजमार्गलाई मृत्यु मार्गको संज्ञा दिने गरेको पाइन्छ।