नागरिकतामै ‘कुकूर’ नाम राखिदिएपछि धोका पाएका कविराम कामी

सुर्खेत। दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामी, जसको नागरिकताको प्रमाणपत्र अहिले चर्चामा छ। सकारात्मक चर्चा होईन, प्रशासन र पञ्चायतविरुद्धको आलोचनासहितको चर्चा।
कविरामको नागरिकतामा लेखिएको नाम हो ‘कुकूर कामी’। यसकारण उनको नागरिकताको प्रमाणपत्र अहिले सामाजिक सञ्जालहरुमा छाएको हो। तत्कालीन समयमा नागरिकताको लागि सिफारिस गर्ने पञ्चायत र सिफारिसका आधारमा नागरिकताको प्रमाणपत्र दिने प्रशासनको टोलीले यसैकारण आलोचना खेप्न थालेका छन्।

प्रशासन र पञ्चायतले आलाेचना मात्र भाेगेका छन्, नागरिकतामा भएकाे नामका कारण कविराम र उनका परिवारले भने सँधै दुख भाेगिरहेका छन्।
कविराम अहिले ६२ बर्षका भए। २०१७ पुस २५ गते उनको जन्म भएको हो।
कविराम मेहलतोलीका भुन्टो कामीका कान्छा छोरा हुन्। उनीभन्दा अघि जन्मिएका ६ दाजुहरुको मृत्यु भएपछि कविरामको घरमा बोलाउने नाम ‘ककूर’ राखिएको थियो। लगातार सन्तान खेर जान थालेपछि जनावरको नाम राख्दा पछिल्ला सन्तान बाँच्छन् भन्ने मान्यता पहिलेपहिले गाउँघरमा थियो। त्यही मान्यताका आधारमा कान्छा सन्तान पूरा आयु बाँचोस् भन्ने हेतुले कविरामका बुवाआमाले पनि कुकूर नाम राखिदिए।
तर नागरिकता सिफारिस गर्ने पञ्चायतले नियतवस् नागरिकतामा पनि त्यही नाम सिफारिस गरिदिएपछि अहिले कविराम मात्र होईन उनका छोराछोरीसमेत समस्यामा छन्।
‘दाजुहरु जन्मदै मृत्यु हुँदै गरेपछि म बाँचुला भनेर पण्डितको सल्लाहमा कुकूर नामले बोलाउन थालिएको हो,’ कविरामले भने, ‘तर नागरिकतामा पनि कुकूर नाम राखिदिएछन्, अहिले अपमान गरेको जस्तो लाग्छ।’ उनले अगाडि भने, ‘मैँले नागरिकता टोलीसँग मेरो नाम कविराम कामी हो भनेर जानकारी गराउँदा पनि टोलीले कुकूर कामी भनेर नागरिकता दिएछन्, अरु जान्ने बुझ्नेले भनेपछि मात्रै थाहा पाएँ।’
उनी निरक्षर भएकाले आफ्नो नाम तत्कालै पढ्न सक्ने कुरा भएन। गाउँमा पढेलेखेकाले ‘तपाइँको नाम त नागरिकतामा पनि कुकूर लेखेछन् त!’ भनेपछि झस्किएका कविरामले तत्कालै नागरिकता प्रदान गर्ने टोलीसँग सच्याईदिने आग्रह गर्ने आँट पनि गरेनन्।
जिल्ला प्रशासन कार्यालय दैलेखको गाउँमा पुगेको टोलीले २०४६ जेठ ७ गते नागरिकता वितरण गर्दा उनले पनि पाएका हुन्। दैलेखका तत्कालीन नापी अधिकृत दुर्गाप्रसाद गिरी नेतृत्वको नागरिकता टोलीले नागरिकता वितरण गर्दा कविरामको नाम ‘कुकूर कामी’ राखिदिएको हो।
नागरिकतामा राखिएको नामकै कारण अहिले अपेहेलित …