काठमाडौं । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । जसका कारण अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विस्तारै बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज ८९५ जना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या साढे चार हजार पुगेको छ । यो संख्या आगामी साता अझ बढ्ने विज्ञहरूले बताएका छन् ।
आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८५ पीसीआर र २ हजार २ सय २४ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६३२ र एन्टिजेन परीक्षणबाट २६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ जना पुगेको छ ।
सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्कीमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, दार्चुला र बाजुरा रहेका छन् ।
उपत्यकाका विभिन्न अस्पतालमा १०३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ३५ जना जनरल वार्डमा, ३१ जना एचडीयूमा, ३२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी हुन् उपचारका लागि निशुल्क अस्पताल
कोभिड संक्रमितहरूको उपचारका लागि सरकारले १७ वटा अस्पताललाई जिम्मा दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो । असार ३१ गतेको निर्णय अनुसार मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेको जनाएको छ ।
यसका लागि प्रदेश १ मा कोसी अस्पताल (विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी अस्पताल (वीरगञ्ज) लाई उपचारको जिम्मा दिइएको छ ।
वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल (महाबौद्ध), त्रिवि शिक्षण अस्पताल(महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (लगनखेल) लाई कोभिड उपचारका लागि तोकिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र धौलागिरि अस्पताल –बाग्लुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल(बुटवल) र भेरी अस्पताल(नेपालगञ्ज) लाई तोकिएको छ ।
यस्तै कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल (वीरेन्द्रनगर) साथै सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल (डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली)लाई निःशुल्क कोभिड संक्रमितको उपचार गराउने भन्दै सरकारले जिम्मा दिएको छ ।