सुर्खेत। कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकिकृत समाजवादी)मै फर्किएका छन्। पार्टीको टिकट नपाएपछि गठबन्धन दलका साझा उम्मेदवार विरुद्व वागी उठेका शाही स्वतन्त्र तर्फबाट मेयर निर्वाचित भएका हुन्।
उनै शाही अहिले पार्टीमा फर्किएका हुन्। काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन्। यद्यपी शाहीले आफु पार्टीभित्रै रहेको प्रतिक्रिया दिएका छन्। ‘निर्वाचित हुनका लागि घुमाउरो बाटो मात्रै अपनाएको हुँ। म उहिलेदेखि अहिलेसम्म पार्टीमै छु।’ शाहीले शिलापेपरसँग भने।
शाही एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत हुन्।
वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए। शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो। खाँडाचक्र नगरपालिकामा माओवादीले उपमेयर जितेको छ।