सुर्खेत । जिल्ला अदालत सुर्खेतले सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनाको किर्ते ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गर्नेविरुद्व अदालतले किर्ते ठहर गरेको हो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधिश डाक्टर राजेन्द्र कुमार आचार्यको एकल इजलासले १३ जनालाई कसूर ठहर गरेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए ।
सूचना अधिकारी रावलका अनुसार वीरेन्द्रनगर–२ का सहबीर कार्की, वीरेन्द्रनगर–६ गणेश चोकका अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ कै सन्तोष ठाकुर, वीरेन्द्रनगर–२ का गणेश बुढा (गोरख), वीरेन्द्रनगर–४ का निर्मल पुरीलाई ठगी गरेको कसूर ठहर गरिएको छ ।
यस्तै, सुनिता राना, मालपोत कार्यालय सुर्खेतका नायव सुब्वा विश्वरुप साउद, कम्प्युटर अपरेटर गणेश विक, कृष्ण बहादुर थापा, दिपेन्द्र श्रेष्ठ र तिर्थराज महतरा, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ वडा कार्यालयका रामकुमार दर्लामी र उत्तम अधिकारीलाई किर्ते ठहर गरिएको छ ।
सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत कार्यालय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्रीलाई विरुद्व समेत अभियोग दायर भएको थियो ।
आज भएको इजलासले कसूर ठहर भएपनि अर्को हप्ता हुने पेशीबाट कसूदारविरुद्व सजायको फैसला हुने सूचना अधिकारी रावलले जनाए ।
के थियाे प्रकरण :
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर – १२ साविक जर्बुटा वडा नम्बर–३ (क)मा रहेको कित्ता नम्बर ३१११ को जग्गा मिति २०७७ असार आठ गते कित्ता काट भयो । उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो ।
जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच गरिदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति)बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नाममा गराईदिनसक्छ । तर, जग्गाधनी रावतलाई कुनै जानकारी नभएर उनकै नाममा भएको उक्त जग्गा अरुकै नाममा नामसारी भयो ।
रावतले जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात मिति २०७७ पौष २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि थाहा पाएका हुन् ।
‘नक्सा लिनको लागि नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेका हौं’ रावतले भने, ‘नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाडिएको थाहा पाइयो ।’
दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए । रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पीछाड छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा नामसारी भएको हो ।
‘जग्गा कित्ताकाट भएको थाहा पाएपछि बुज्दैगर्दा कार्कीका नामबाट मिति २०७७ असार १० गतेभन्दा पछि छुट्टा–छुट्टै ६ कित्तामा बाँडेर अरुका नाममा नामसारी गरिएको पाइयो’ रावतले भने, ‘छत्र बहादुर थापा, रेखा आचार्य लगायतका ६ जनाको नाममा जग्गा नामसारी भएको रहेछ ।’ उसाे त तत्कालिन अवस्थामा वीरेन्द्रनगरकाे जग्गा कित्ताकाट गर्न राेकिएकाे थियाे तर सहवीर कार्कीले अंश भर्पाइ गरी कित्ताकाट गरेकाे बताइएकाे छ।
जग्गा नामसारी गराउने कार्यमा जिल्ला मालपोत कार्यालय संलग्न रहनुका साथै त्यसका लागि आवश्यक कागजात लिखित गर्ने अम्बरसिं कटुवाल, जग्गा पास गर्ने मालपोत अधिकारी नायव सुब्बा विश्वरुप सावत र जग्गा पासका लागि निवेदन दिने जग्गाधनी सहबीर कार्कीको भुमिका रहेको रावतले आरोप लगाए ।
जग्गा नामसारी गराउने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर भएको सुब्बा सावतले आफुलाई बताएको रावतले जानकारी दिए ।
उनका अनुसार जिल्ला मालपोत कार्यालय सुर्खेतमा जग्गा नामसारी गराउने विभिन्न फाँटहरुमा तत्कालीन अवस्थामा लक्ष्मी शाही (कार्यालय प्रमुख), सुनिल राना (कम्प्युटर), कृष्ण थापा (खरिदार, रजिष्ट्रेसन), दिपेन्द्र क्षेष्ठ (जुनियर रजिष्ट्रेसन), तीर्थ महत्तरा (मोठ, जग्गा नामसारी), ओमबहादुर गौतम (सील)मा रहेका थिए ।
त्यसैगरी जग्गा कित्ताकाट गर्ने नापी कार्यालयका विभिन्न फाँटका कर्मचारी र सम्बन्धित वडा कार्यालयमा समेत उक्त कार्य गरिएको बुझिन्छ ।
वीरेन्द्रनगर–४ का ६१ वर्षीय नारायण बुढा र वीरेन्द्रनगर–१ का २४ वर्षीय चाँदनी वली उक्त जग्गा सौगात रावतको नामबाट सहबीर कार्की नाममा नामसारी गर्दा किनाराका साँक्षी बसेका छन् ।