सुर्खेत । कर्णाली प्रदेश विपद्को उच्च जोखिममा छ । यहाँ विशेष गरी चार प्रकारका विपद जोखिम हुने गरेका छन् । जसमध्ये जलवायूजन्य विपद्, जैविक महामारी र जीवजन्तुबाट उत्पन्न हुने विपद, प्राविधिक तथा मानवजन्य विपद र भौतिक विपद्को जोखिम रहेको छ ।
यस वर्ष जेठ १८ देखि असोज १६ गतेसम्म मनसुन अवधि छ । मनसुन अवधिमा देशभर २० लाख मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ । जसअनुसार कर्णाली प्रदेशमा ५५ हजार मानिस प्रभावित हुने जल तथा मौसम विभाग महाशाखाको तथ्यांक छ ।
गत जेठ महिनामा मात्रै विपद्बाट कर्णालीमा १० मानवीय, एक सय ७० अन्य सहित १७ घर पूर्ण र २३ घरमा आंशिक क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जेठ महिनाभित्र भएका घटनामध्ये सबैभन्दा बढी आगलागी, सडक दुर्घटना र हावाहुरीबाट क्षती भएको हो ।
मनसुनका कारण कर्णालीमा तीन किसिमका घटनाहरु हुने गरेका छन् । बाढी, पहिरो र अत्यधिक वर्षाका घटना हुने गरेका हुन् । यसबाट गत सालको मनसुनमा पाँच सय ६८ घटनाबाट दुई सय ८३ जनाले ज्यान गुमाएका थिए ।
कर्णालीका अन्य जिल्लाका तुलनामा बाढीको उच्च जोखिममा सुर्खेत रहेको छ । कालिकोट र जाजरेकाट पहिरोको जोखिममा छन् भने सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला र डोल्पा अत्यधिक वर्षाको जोखिममा रहेका छन् ।
प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजना (२०२२–२०३०)को मस्यौदा तयार गरेपनि मन्त्रीपरिषद्बाट स्वीकृत हुन बाँकी छ । कार्ययोजनामा विपद् जोखिम न्यूनीकरणलाई मुख्य केन्द्रमा राखेर रणनीति तयार गरिएको हो ।
मनसुन प्रतिकार्य तथा पूर्वतयारी कार्ययोजना–२०७९ भने पारित भैसकेको छ । यो कार्ययोजनालाई प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले पारित गरेको हो ।
विपद्को पूर्वतयारीका लागि प्रदेश सरकारले नीतिगत कार्ययोजना बनाएपनि भौतिक संरचना अभाव भने कायमै छ । विपद् प्रतिकार्य सामाग्री ढुवानी तथा भण्डारणका लागि उपयुक्त स्थल नहुँदा समस्या हुने गरेको हो ।
विपद् प्रतिकार्य योजना अन्र्तगत नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न उपकरण खरिदका लागि दुई करोडको टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा कागजी प्रक्रिया नपुग्दा रद्द भएको मन्त्रालयले जनाएको छ ।
विपद् प्रतिकार्य सामाग्री राख्न प्रदेश सरकारले गोदाम घर निर्माण गर्दैछ । टेण्डर आह्वान भएको १४ महिना पुग्दासमेत घर निर्माणको काम सकिएको छैन । २०७९ असोज १ गतेभित्र घर निर्माण सम्पन्न भै हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । प्राकृतिक निशान जेभी रुपन्देहीले घर निर्माणको ठेक्का लिएको छ ।
दुई करोड ९० लाख बराबरको लागतमा निर्माण हुन लागेको गोदाम घर अहिले कति प्रतिसत काम सम्पन्न भयो भन्नेमा मन्त्रालय एकिन छैन । अहिलेसम्म ठेकेदार कम्पनीले रनिङ विल वापतको रकम भुक्तानी नलिएको हुँदा प्रतिसतका हिसाबले कति काम भयो भन्ने एकिन नभएको मन्त्रालयका सचिव दिनेश सागर भुषालले जानकारी दिए ।
१४ महिनासम्म गोदाम घरको पर्खालमात्रै लगाउने काम भएको छ । काम सुरुआत गर्नु पहिले नै आधा जति पर्खाल थियो । निर्माण कम्पनीका सञ्चालक डिल्ली केसी मन्त्रालयको सम्पर्कमा छैनन् । उनले लगाएका कामदार भने निर्माणस्थलमै छन् । तर, समयानुसार लिनुपर्ने गति बमोजिम काम नहुँदा निर्धारित अवधिमा काम सम्पन्न हुनेप्रति आशंका भएको हो ।
वर्षातको समय भएको हुँदा झ्याल, ढोका र छाना मात्रै लगाइदिन आग्रह गर्दा समेत ठेकेदार कम्पनीले काम गर्न नसकेको मन्त्रालयका सचिव भुषालले बताए ।
गोदाम घर नहुँदा मनसुन प्रतिकार्य तथा विपद्का लागि आवश्यक सामान राख्न कठिन् भैरहेको उनले बताए । ‘विपद् पूर्वतयारी अन्र्तगतका सामान राख्ने गोदाम घर छैन । सामान कहाँ लिएर राख्नु । समस्या भैरहेको छ’ सचिव भुषालले भने, ‘गोदाम घर नबनेकै कारण दातृ निकायबाट दिने सहयोग समेत ल्याउन सकिएको छैन ।’